फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा राख्यो प्रभु बैंकले

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाले मंगलबार सूचना जारी गर्दै संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएकाे जनाएकाे छ । यो सेयर जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले खरिद गर्न आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी चैत १५ गतेभित्र नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि न्यूनतम १५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यूनाइटेड अजोडको एक लाख कित्ता सेयर बेच्दै खेतान र चाचान

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडबाट संस्थापक सेयरधनी सन्दिप खेतान र जुलि चाचान बाहिरिने भएका छन् । उनीहरूले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । मंगलबार कम्पनीले सूचना जारी गर्दै खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता गरी कुल १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको छ । यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण गरिएको छ । विद्यमान संस्थापकहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

माउन्टेन इनर्जीको साधारण सभा आज, १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १०औं वार्षिक साधारण सभा मंगलबार आयोजना हुँदैछ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरू पारित गरिनेछ । यस्तै सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । कम्पनीले साधारण सभाको प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज गरेको थियो । त्यसकारण फागुन २९ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।