प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा राखिने भएको छ । आगामी चैत २५ गतेदेखि प्रभु बैंकको संस्थापक समूहको ६१ हजार ७ सय ६२ कित्ता र स्वावलम्बन लघुवित्तका संस्थापक समूहको १४ हजार ७ सय १० कित्ता गरी कुल ७६ हजार ४ सय ७२ कित्ता सेयर बिक्रीमा राखिने भएको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरू तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरूले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । प्रभु बैंकको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ र स्वावलम्बन लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सेयरको बिक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या तथा मूल्य खुलाई वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेप्सेमा एक दर्जन बैंकको ९ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक दर्जन बैंकको पौने ९ करोड कित्ता बोनस सेयर सूचीकृत भएको छ । हालसम्म ५ वटा वाणिज्य बैंक र ६ वटा विकास बैंकको गरी कुल ११ बैंकको ८ करोड ८० लाख बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल एसबिआई बैंकको गरी कुल ७ करोड २८ लाख ८५ हजार ६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकको गरी कुल १ करोड ५१ लाख ३९ हजार ८५६ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । माछापुच्छ्रे बैंकको १३.३० प्रतिशत बोनस वापत १ करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गरेको हो । एभरेष्ट बैंकको १० प्रतिशत बोनस वापत १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ लाभांश वितरण गरेको हो । एनआईसी एशिया बैंकको २९ प्रतिशत बोनस वापत ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले सेयरधनीहरूलाई २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कुल ३०.५ लाभांश वितरण गरेको हो । सानिमा बैंकको ९ प्रतिशत बोनस वापत १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७० लाभांश वितरण गरेको हो । नेपाल एसबिआई बैंकको ३.७५ प्रतिशत बोनस वापत ३७ लाख ९५ हजार २३५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश वितरण गरेको थियो । सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस वापत १६ लाख ३३ हजार ७९५.८६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत लाभांश बाँडेको हो । गरिमा विकास बैंकको ९.५ प्रतिशत बोनस वापत ४९ लाख २८ हजार ३०२.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको हो । मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस वापत ९ लाख ६४ हजार २५१.३६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनस वापत ४४ लाख ९८ हजार ७७.३७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५५ नगद गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गरेको हो । मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनस वापतको ६२ लाख ६० हजार ३७७.७६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद गरी कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गरेको थियो । लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस वापतको १३ लाख ५३ हजार १२८.५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरी कुल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन हुने

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन हुने भएको छ । चैत १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले संस्थाको सेयर अनुपात परिवर्तन गर्ने प्रस्ताव गरेको हो । उक्त बैठकले बैंकको सेयर अनुपात ५१ः४९ कायम गर्ने निर्णय गरेको छ । यससँगै संस्थापक सेयर २६ लाख ४६ हजार ९०० र साधारण सेयर २५ लाख ४३ हजार १०० कित्ता कायम हुने छ । हाल संस्थाको संस्थापक र साधारण सेयरको अनुपात ५५ः४५ रहेको छ । सञ्चालक समितिको उक्त प्रस्तावलाई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्ने छ । बैंकको दशौं तथा एघारौं सभा आगामी चैत २७ गते बस्दै छ ।