१.७६ लाख कित्ता सेयर बेचेर सांग्रिलाबाट बाहिरिँदै गुरूङ र बजगाईं
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका २ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकले संस्थापक नवराज बजगाईंको नाममा रहेको ५ हजार ३० कित्ता र ईमान बहादुर गुरुङको १ लाख ७१ हजार १० कित्ता गरी कूल १ लाख ७६ हजार ४० कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयर जोकोही सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको १५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ ।
आइतबार पनि सर्वाधिक कारोबार गर्नेमा हिमालयन रि अगाडि, चार कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । आइतबारको बजारमा पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । गत बिहीबार पनि सर्वाधिक कारोबार भएको कम्पनीको आइतबार पनि सर्वाधिक अर्थात ५६ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । दिनभरमा कम्पनीको ८ लाख २७ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ । कारोबारसँगै कम्पनीको सेयर मूल्य पनि बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँले बढेर प्रतिकित्ता ६८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । समग्रमा आइतबारको बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा झरेको छ । जुन गत बिहीबारको तुलनामा १.१८ प्रतिशतले घटी हो । आइतबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ८ अर्ब १७ करोडको कारोबार भएको बजारमा आइतबार ७ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । घटेको बजारमा पनि चार कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको ९.९७ प्रतिशत, समाज लघुवित्त वित्तीय संस्थाको ९.९७ प्रतिशत, हिमालयन जलविद्युत कम्पनीको ९.९४ प्रतिशत र मिडसोलु हाइड्रोपावरको सेयर मूल्य ९.७८ प्रतिशतले बढेको छ । टप लुजरको शीर्ष स्थानमा भने सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । जसको सेयर मूल्य ८.२७ प्रतिशतले घटेर प्रतिकित्ता १०६० रुपैयाँमा झरेको छ । बजारमा हाइड्रोपावर र अन्य समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । अधिकांश वाणिज्य बैंकले नाफा घटेको रिपोर्ट सार्वजनिक गरेसँगै त्यसको प्रभाव सेयर बजारमा परेको बुझिन्छ । बैंकहरूको खराब कर्जा वृद्धि र ब्याज आम्दानी घटेका कारण चालु आवको ६ महिना अर्थात पुस मसान्तमा बैंकहरूको नाफा १० प्रतिशतले घटेको देखिन्छ ।
अपर तामाकोशीको सेयरमा १८० रुपैयाँसम्मको आवेदन
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको अवितरित हकप्रद सेयरमा १८० रुपैयाँसम्मको आवेदन परेको छ । शुक्रबारदेखि शिलबन्दी बोलपत्र खोल्दा प्रतिकित्ता १८० रुपैयाँसम्म आवेदन परेको सनराइज क्यापिटलका चिफ अप्रेटिङ अफिसर बिजेन्द्र प्रधानले जानकारी दिए । ‘आजबाट बोलपत्र खोल्न थालिएको छ, अहिलेसम्म ४ हजार आवेदन खोलिएका छन्, अझै बोलपत्र खोल्न बाँकी छ,’ उनले भने, ‘अहिलेसम्म खोलिएका बोलपत्रहरूमध्ये सबैभन्दा धेरै १८० रुपैयाँसम्मको आवेदन परेको छ । तर, अधिकांश आवेदन १३० देखि १५० रुपैयाँको बीचमा छन्, यही बीचको मूल्य नै कट अफ प्राइस हुन सक्छ ।’ उनका अनुसार कट अप प्राइस आउन एक/दुई दिन लाग्ने उनले बताए । कम्पनीको सेयरमा ३० हजार बढीले सेयर खरिदका लागि आवेदन दिएका छन् । ‘चेकबाट आएको रकम कति छ भनेर सबै खोलिएपछि मात्रै थाहा हुन्छ, बैंकमा मात्रै ७ अर्ब रुपैयाँ बढीको आवेदन परेको छ,’ उनले भने । कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको १० अर्ब ५९ करोड रुपैयाँको १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता बिक्री भएको थिएन । बिक्री नभएको उक्त सेयर गत पुस १२ गतेदेखि पुस २९ गतेसम्म लिलामीमार्फत बिक्री खुला गरेको थियो । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।