विशेष अदालतको फैसलाविरुद्ध गुरु न्यौपाने सर्वोच्च जाने
काठमाडौं । रिडी हाइड्रोका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपाने वैशाख २ गते विशेष अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालत जाने तयारीमा छन् । नेपालमा पहिलो पटक सेयर खरिद/बिक्री गरेको आरोपमा ७५ हजार नगद जरिवाना गर्ने र १० वर्षसम्म पब्लिक लिमिटेड कम्पनीको सञ्चालक हुन रोक लगाएको र सोही कारोबारलाई भित्री कारोबार भनी अपुष्ट तथ्यका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी सो मुद्दा विचाराधीन रहेको र उक्त मुद्दा फैसला हुँदा मुद्दाबाट भित्री कारोबार हो, होईन भन्ने निर्णय हुन बाँँकी रहेकाले न्यौपानेले सर्वोच्च जाने तयारी गरेको बताएका छन् । न्यौपानेले आफू अध्यक्ष रहँदा २९ हजार ९ सय ५३ कित्ता रिडी पावर कम्पनीको सेयर खरिद त्रुटिपूर्ण रूपमा खरिद गरी ३९ हजार २३ कित्ता सेयर बिक्री गरेको दाबी गरिएको छ । न्यौपानेलाई गत आइतबार विशेष अदालतले १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुने गरी ३ करोड ९८ लाख २० हजार ५ सय ४ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तथा बिगो कायम गरिएको रकम बराबरको सम्पत्ति जफतको फैसला गरेको थियो । विशेष अदालतले न्यौपाने ज्येष्ठ नागरिक भएको कारण देखाउँदै ठहर गरेको दुई वर्ष कैदलाई ५० प्रतिशत मिनाहा गरी १ वर्षमात्र कायम हुने पनि आदेश दिएको छ । धितोपत्र बोर्ड आफूले गर्नुपर्ने प्रत्यक्ष निगरानी, निरीक्षण सुपरीवेक्षण गर्ने दायित्व पूरा नगरी आफूमाथि कारबाही गरेको र सेयर खरिद बिक्री गर्ने कामलाई नियमित र नियन्त्रण गर्ने ब्रोकर कम्पनीलाई कुनै कारबाही नगरी एकोहोरो रूपमा गरिएको कारबाही कानुन संगत छ वा छैन भन्ने कुरा भविष्यमा सर्वोच्च अदालतले फैसला गरेपछि पुष्टि हुने न्यौपानेले बताएका छन् । न्यौपानेले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वित्तीय संस्थाको उच्च तहमा रही अवकाश पाएपछि २०५४ सालमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड स्थापना गरी जलविद्युतको यात्रा सुरु गरेको थिए ।
सेयर बजार राताम्मे, दुई हजारको बिन्दुबाट झर्यो नेप्से परिसूचक
काठमाडौं । विगत चार दिनदेखि यता सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा सेयर मूल्य मापक नेप्से परिसूचक दुई हजारको बिन्दुबाट पनि तल झरेको छ । मंगलबारको बजारमा परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पौने तीन अर्बको कारोबार भएको बजारमा मंगलबार भने २ अर्ब १० करोडमा सीमित भएको छ । ३१२ वटा स्क्रीप्स कारोबार भएको बजारमा सबैभन्दा बढी गोर्खाज फाइनान्सको सेयर किनबेच भएको छ । फाइनान्सको मंगलबार मात्रै १७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि करिब १० प्रतिशत अर्थात ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ९०५ रुपैयाँ पुगेको छ । घटेको बजारमा गोर्खाज फाइनान्ससहित एसबिएलको ऋणपत्रमा सर्किट लागेको छ । १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिथान ११५५ रुपैयाँ पुगेको छ । बजारमा रुरु जलविद्युत परियोजनाको भने सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५६०.७० रुपैयाँमा झरेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् ।
प्रभु केबलकारले आईपीओ जारी गर्ने, अघि बढाउँदै थप तीन परियोजना
काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजमले सार्वजनिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारीका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्न कम्पनीले शिलबन्दी बोलपत्र माग गरेको छ । बैशाख ४ गते एक सूचना जारी गर्दै कम्पनीले योग्य कम्पनी तथा संस्थाहरुलाई ४५ कार्यदिन भित्र शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो । उक्त मूल्य बिक्री प्रबन्धकले नै प्रस्ताव गर्ने छ । कम्पनी ऐन २०६३ द्धारा सार्वजनिक कम्पनीको रुपमा स्थापना भएको कम्पनीले केबलकार परियोजना र पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको छ । हाल कम्पनीले विभिन्न तीन वटा केबलकार परियोजनालाई अघि बढाएको छ । कम्पनीले रुपन्देहीमा सिद्धार्थ केबलकार, रामेछापमा खाँडादेवी केबलकार र सिन्धुलीमा सिद्धबाबा केबलकारको परियोजनामा काम गरिरहेको छ । जसमध्ये रुपन्देहीको सिद्धार्थ केबलकारको काम भने अन्तिम चरणमा पुगेको छ भने बाँकी दुई परियोजनाको काम शुरुवाती चरणमा रहेको कम्पनीले जानकारी गराएको छ । प्रभु ग्रुप र कम्पनीका सहायक कम्पनी प्रभु केबलकारको अधिकृत पुँजी एक अर्ब रुपैयाँ छ । जसमा प्रभु होल्डिङ एण्ड हाइड्रो डभेलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, हाइड्रो होल्डिङ्स एण्ड पावर डेभलपमेन्ट कम्पनीको १९.६ प्रतिशत, प्रभु जलविद्युत विकासको ९.८ प्रतिशत र प्रभु उर्जा कृषि प्राधिकरण विकासको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ । आईपीओ जारी पश्चात कम्पनीको कम्तिमा ७० प्रतिशत सेयर प्रभु सेयर र कम्पनीको हुने छ । साथै, यस कम्पनीले आफ्ना सेयरधनीहरुलाई संस्थागत सुशासन सुनिश्चित गर्न र आफ्ना लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिन निरन्तर काम गरिरहेको छ । काठमाडौंको तिनकुनेमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीमा प्रभु ग्रुप र कम्पनीका प्रतिनिधिमात्र सञ्चालक छन् । अध्यक्षमा भोज कुमार खड्का, सञ्चालकमा इञ्जिनियर धुव्रकुमार पोखरेल, लक्ष्मी पौडेल, रमेशप्रसाद सापकोटा, आरती थापा र कम्पनी सचिवमा सुजेन्द्र कुमार ठकुरी रहेका छन् । इञ्जिनियर पोखरेल स्वतन्त्र सञ्चालक हुन् भने अन्य सञ्चालकहरु प्रभु ग्रुप र कम्पनीका प्रतिनिधिहरु हुन् ।