ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गरी संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रीय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १० लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले बुधबार एक सूचना जारी गरी बैंकका संस्थापक सेयरधनी वीरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखिएको जनाएको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । बैंकका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने छ ।

खिम्ती जलविद्युत आयोजनाको सेयर रामेछाप र दोलखालीले पाउँछन्ः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले सेयर पाउने बताएका छन् । मंगलबार काठमाडौंमा दोलखा जिल्लाका जलविद्युत आयोजनाहरुबाट प्राप्त अवसर र समस्या चुनौति विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले भने, ‘खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने हो । सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए, पीटिए र पीए सबैमा छलफल भइरहेका थिए । कोभिड आएपछि समस्या भयो । अहिले हामी धेरै प्रयास गरिरहेका छौं । त्यसमा उहाँहरुले अझ बेटर अप्सनहरु दिइराख्नुभएको छ । त्यो अहिले बाहिर नल्याऔं । यो नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई दिने भन्ने सेयर म पनि त्यसकै पक्षमा छु । त्यो सेयर आउँछ ।’ उनले खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने भएपनि अहिलेसम्म आउन नसकेको बताए । प्राधिकरणको स्वामित्वमा ल्याउनको लागि धेरै प्रयास गरिरहेको दाबी गर्दै निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणलाई प्रवद्र्धधक कम्पनी हिमाल पावरले बेटर अप्सन दिएको र त्यस बारेमा ठोस सहमति भएको बताए । उनले नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई सेयर दिने पक्षमा रहेको बताए । वैदशिक लगानीमा निर्माण सम्पन्न भएकोे ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि दिने उनको प्रतिवद्धता छ । त्यस्तै, विद्युत प्राधिकरणले लाइसेन्स लिएकाले प्राधिकरणमार्फत तामाकोशी ५ जलविद्युत आयोजना ठेक्का लागेको उनले बताए । तामाकोशी ५ मा तामाकोशी जलविद्युत आयोजनाको सेयर कति राख्ने भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले तामाकोशी ५ जलविद्युत आयोजनाको १० प्रतिशत सेयर दोलखालाई दिने बताए ।