सूर्यकुण्ड हाइड्रोलाई आईपीओ निष्कासन गर्न विद्युत नियमन आयोगको स्वीकृति
काठमाडौं । विद्युत नियमन आयोगले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको हो । प्राथमिक सेयर निष्काशन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ । सेयरको प्रत्याभूतिको कार्य नेपाल एस.वि.आई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मे.वा क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एस.वि.आई बैंक सँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भईरहेको छ । आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाऊँपालिकामा तादि खोलामा यो आयोजनाको निर्माण कार्य भईहरेको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका सेयरधनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिना भरिमा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेले बताए । आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ किलोमिटर लामो ३३ के.भि ट्रान्सिमिसन लाईनबाट ने.वि.प्राको समुन्द्रटार सबस्टेशनमा जडान गरि काठमाडौंको लागि अझ भरपर्दो विद्युत प्रदान गरिनेछ । आयोजनामा फोल्वेल इनर्जे भारतको अत्पाधुनिक मसिन जडान गरिनेछ ।
फाइनान्समा लगानीकर्ताको आकर्षण, नेप्से सामान्य घट्याे
काठमाडौं । बुधबार सेयर बजार ०.२१ अंकले घटेर १९६०.६० बिन्दुमा झरेको छ। आज ३०५ कम्पनीको ७४ लाख कित्ता सेयर ४१ हजार १३७ पटक खरिद बिक्री हुँदा २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबार रकम भने बढेको छ । मंगलबार २ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आज वित्त ३.११, हाइड्राेपावर ०.०२, लघुवित्त २.७६ र ट्रेडिङ ०.१५ प्रतिशतले बढेको छ । त्यस बाहेकका सबै समूह नकारात्मक छन् । आज १२४ कम्पनीको सेयर घटेको । १०७ कम्पनीको बढेको छ भने १२ कम्पनीको स्थिर छ। आज सबैभन्दा धेरै फस्ट माइक्रो फाइनान्सको कारोबार भएको छ । कम्पनीको १० करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको हो। त्यस्तै आज सबैभन्दा धेरै कमाउनेमा इन्फिनिटि लघुवित्त रहेको छ । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । लघुवित्तको शेयरमूल्य आज १२७ रुपैयाँ ९० पैसा बढेर १ हजार ४०७ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुबै ०.०९ अंक बढेको छ ।
कुमारी बैंकको १ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै १ लाख ११ हजार १६० कित्ता सेयर बिक्रीमा राखेको हो । कुल कित्ता मध्ये १ लाख ८ हजार ४४ कित्ता बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि र ३ हजार ११६ कित्ता अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा राखिएको बैंकले जनाएको थियो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । त्यस्तै आम सर्वसाधारणका लागि सेयर खरिद चाहने इच्छुक लगानीकर्ताले पनि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले उल्लेख गरेको छ । निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।