गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार २ सय २४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनीले काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
नेप्सेमा थपियो रिडी पावरको ७७ लाख कित्ता सेयर
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिडी पावर कम्पनीकाे ७७ लाख ४४ हजार कित्ता सेयर थपिएको छ । नेप्सेमा रिडी पावरको ५० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार कम्पनीको कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आफ्ना सेयरधनीलाई चुक्तापुँजीको १ः०.५० अनुपातमा (१ कित्ताबराबर शून्य दशमलव ५० कित्ताको अनुपातमा) अर्थात ५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । मंगलबारबाट सेयर कारोबार गर्न सकिनेछ ।
एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद सेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो । हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन दिएको निर्देशन बमोजिम यस कम्पनीले सेयर लाभांश र हकप्रद निष्कासनमार्फत चुक्ता पूँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत (१,४२,७९,३१२ कित्ता) हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर वितरण पछि यस कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ रुपैयाँ पुग्नेछ । आव आ.व.०८०/०८१ को चैत्र मसान्तसम्ममा कूल ४१ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष रहेको यस कम्पनीले बीमित र सेयरधनीलाई अधिकत्तम प्रतिफल प्रदान गर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत आयोजना, पर्यटन व्यवसाय, हवाई उड्ययन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुमा समेत लगानी विविधिकरण गरेको छ । कम्पनीले आ.व.०८०/०८१ को चैत्र मसान्त सम्म प्रथम बीमाशुल्क १ अर्ब २० करोड ६१ लाख रुपैयाँ, नविकरण बीमा शुल्क ४ अर्ब ५७ करोड ९२ लाख रुपैयाँ गरी कुल ५ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । हाल यस कम्पनीले देशभरि रहेका १३९ शाखा कार्यालयहरू र १ लाख १३ हजार अभिकर्ता मार्फत सर्वसाधारणको घरदैलोमै जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ ।