सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयर सूचीकृत भएको छ । बिहिबार कम्पनीको कुल १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । उक्त हकप्रद सेयर डिम्याट खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीले २०८० फागुन २ गतेदेखि २२ गते सम्म निष्कासन गरेको हकप्रद सेयर सूचीकृत गराएको हो ।

प्रभु इन्स्योरेन्सको ५ प्रतिशत लाभांश पारित, ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । तीनकुने काठमाडौंस्थित कम्पनीको केन्द्रीय कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनश सेयर तथा बोनश सेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरि जम्मा ५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ । वार्षिक साधारण सभाले कम्पनीको संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचनलाई सर्वसम्मत रुपमा चयन गर्नुका साथै सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको छ । त्यसैगरी कम्पनीलेनेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनका लागि स्वीकृत बोनश सेयर बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५०.१५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ । वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष कुसुम लामाले कम्पनीको वासलात, नाफा नोक्सान हिसाब प्रस्तु गरेकी थिइन् । उनले  कम्पनीले निरन्तर रुपमा आफ्नो व्यवसाय वृद्धि गर्दै संस्थागत शुशासन, आन्तरिक नियन्त्रण प्रणालीमा सुदृढीकरण र जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिई कार्य अगाडी बढाइ  सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गको सन्तुष्टिको मुख्य आधार भएकोलाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक निति तर्जुमा गरी सूचना प्रविधि, जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढिकरण गर्दै लगिएको जानकारी गराइन् ।

हिमालयन डिष्टिलरीद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ को साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सूचना प्रकाशित भएको ३० दिनभित्र सेयरधनीहरूले कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडमा सम्पर्क गरि आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश बुझिलिनु पर्ने कम्पनीले जनाएको छ । अन्यथा उक्त अवधिको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।