प्रभु महालक्ष्मी लाइफको २५ लाख ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले बुधबार एक सूचना प्रकाशित गरी प्रभु बैंकको स्वामित्वमा रहेको कम्पनीको २१ लाख ९६ हजार कित्ता, विराटकुमार श्रेष्ठको स्वामित्वमा रहेको १ लाख ४१ हजार ३ सय २५ कित्ता, विनिता उपाध्यायको स्वामित्वमा रहेको १ लाख कित्ता, यादवेन्द्र गौतमको स्वामित्वमा रहेको १ लाख ९ हजार ८ सय कित्ता र प्रजितराज पराजुलीको स्वामित्वमा रहेको ३७ हजार ५ सय कित्ता गरी कुल २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जानकारी गराएको हो । यो सेयर खरिदका लागि कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनी सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार तोकिएको समयभित्र खरिद आवेदन नपरेमा कानुनबमोजिम अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने छ ।
कुमारी बैंकको ३ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । बैंकले बुधबार एक सूचना जारी गरी विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर जेठ ४ गतेदेखि बिक्रीमा राख्न लागेको जानकारी दिएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक लगायत अन्य व्यक्ति, फर्म, संगठित संस्था तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकताले बोलपत्र आवेदनका साथ आफूले खरिद गर्न चाहेको सेयरको सम्पूर्ण रकम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा लक्ष्मी सनराइज बैंकको खातामा धरौटी बापत जम्मा गरेको सक्कल नगद भौचर संलग्न गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिने बैंकले जनाएको छ । लगानीकर्ताले सेयर खरिदका लागि जेठ १८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।
घट्दो सेयर बजारप्रति सरकार अनुदार, लगानीकर्ता भन्छन् : बेवास्ता भयो
काठमाडौं । सेयर बजार सुधारमा सरकार अनुदार देखिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमा सरकारले सेयर बजारको सुधारका लागि कुनै कार्यक्रम सार्वजनिक नगर्दा बजारप्रति अनुदार देखिएको लगानीकर्ताको बुझाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले आउँदो आर्थिक वर्षमा पूँजी बजारको विकासको लागि विशेष जोड दिने बताए पनि कुनै पनि कार्यक्रम सार्वजनिक नगर्दा यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको बुझाइ लगानीकर्ताले राखेका छन् । सेयर बजार विगत तीन वर्षदेखि निरन्तरर ओरालो यात्रामा छ । अहिलेको नीति तथा कार्यक्रमले थोरै भए पनि पूँजी बजारमा नीतिगत सुधारका योजनाहरु सार्वजनिक हुन सक्ने अपेक्षा लगानीकर्ताको थियो । तर, नीति तथा कार्यक्रममा पुँजीबजारमा देखिएका समस्या समाधान गर्ने कुनै पनि कार्यक्रम सार्वजनिक भएनन् । पूँजी बजार अहिलेको अर्थतन्त्र सुधारको आधार भए पनि सरकारले वेवास्ता गरेको टिप्पणी राखेका छन् । ‘पूँजी बजार अर्थतन्त्रको एक महत्वपूर्ण आधार हो, ’ लगानीकर्ता छोटेलाल रौनियारले भने, ‘हामीले पूँजी बजारमा धेरै ठूलो कुरा गर्नुस् भनेका छैनौं, नीति राम्रो बनाइदिए सेयर बजार आफैं सुधार हुँदै जान्छ ।’ नीति तथा कार्यक्रम भन्दा बजेट महत्वपूर्ण रहेको बताउँदै बजेटमा पूँजी बजारलाई सरकारले प्राथमिकतामा राख्नेमा आफूहरु आशावादी रहेको धारणा उनको छ । यद्यपि सरकार काम गर्न चाहेर पनि अलमलिएको उनको भनाइ छ । लगानीकर्ता राधा पोखरेल पनि सरकारको नीति तथा कार्यक्रमलाई हेर्दा पूँजी बजारलाई वेवास्ता गरेको प्रष्टै देखिने बताउँछिन् । ‘पूँजी बजार सरकारको प्राथमिकतामा पर्न नसकेकै हो,’ उनी भन्छिन्, ‘सुझावहरू क्रमशः कार्यान्वयन गरिनेछ भनिएको छ । तर, पूर्ण रुपमा भर पर्ने अवस्था छैन ।’ विगतमा दिएका सुझावहरू हालसम्म कार्यान्वयन नभएको बताउँदै यसपटकका सुझावहरू पनि कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त नभएको उनको भनाइ छ । लगानीकर्ता राजन लम्साल भने बजेटमा सेयर बजार सुधार हुने नीति आउन सक्ने तर्क गर्छन् । पूँजीबजार विश्लेषक मुक्ति अर्याल पनि बजेटले सेयर बजारको सुधार गर्ने नीति ल्याउनेमा आशावादी छन् ।