अरुण भ्याली हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेका अनुसार सोमबार कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ गतेसम्म १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासनमा ल्याएको थियो ।
नेप्सेमा हरियाली, बैंकिङ समूह ४ प्रतिशतले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि सकारात्मक देखिएको छ । नेप्से परिसूचक आज २७.५४ अकंले बढेर २०९२.०० को बिन्दुमा कायम भएको हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्जा प्रवाह विस्तारमा केहि लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । जसका कारण सेयर बजार लगातार आइतबार र सोमबार बढेको हो । आज बैंकिङ समूह सबैभन्दा धेरै बढेको छ । यस उपसमूह आज ४.१८ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा धेरै वित्त समूह घटेको छ । यो समूह ०.५८ प्रतिशतले घटेको छ । आज ३ सय १५ कम्पनीको १ करोड ४३ लाख कित्ता सेयर ८० हजार ९०२ पटक खरिदबिक्री हुँदा ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको हो । हिजो ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । पोखरा फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ । फाइनान्सको आज १९ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । चार कम्पनीको सेयरमा आज सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल, भगवती हाइड्रोपावर र नेरुडे लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
सूर्योदय वोमी लघुवित्तको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । विद्यमान संस्थापक सेयधनीहरूका लागि मात्रै यो सेयर बिक्रीमा राखिएको संस्थाले जनाएको छ । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेस गर्नुपर्नेछ । निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।