सेयर लगानीकर्तालाई नासाको अफर, एनसेलका ग्राहकलाई ५५ प्रतिशतसम्म छुट

काठमाडौं । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवा उपभोग गर्न सक्नेछन् । यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले सोमबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नासा सेक्युरिटिज नेपालकै एक अग्रणी सेयर ब्रोकरेज फर्म हो । समझदारीका अनुसार एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्छन् । पहिलो पटक डिम्याट खाता खोल्न १०० रुपैयाँ र मेरोसेयरमा दर्ता हुनका लागि ५० रुपैयाँ लाग्ने गरेको छ । यसरी कुल १५० रुपैयाँको काम ५५ प्रतिशत छुटले गर्दा ६७.५० मा नै गर्न सकिने एनसेलले जनाएको छ । एनसेल एपको माध्यमबाट ग्राहकले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरोसेयर नवीकरण गर्नेलगायत केही समस्या र जिज्ञासा भए राख्न सक्नेछन् । ‘हामी हाम्रा ग्राहकलाई युज केसहरू अवसरको रूपमा प्रदान गरेर आर्थिक गतिविधिलाई बढाउँदै बजारलाई चलायमान बनाउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्नका लागि योगदान पुर्याउन तत्पर छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने । आम उपभोक्तालाई प्रविधिमा पहुँच सधैं सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान सञ्चालन गरिरहेको बेलामा सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा आफूहरू उत्साहीत रहेको उनले बताए । एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि १०० भन्दा बढि देशमा उपलब्ध रोमिङ सेवाको प्रयोग गर्दै आफ्नो डिम्याट खाता खोलि सेयरमा लगानी गर्न सक्नेछन् । यसले विदेशमा रहेका नेपालीको आम्दानीलाई स्वदेशमा नै लगानी गरी सकारात्मक आर्थिक प्रभाव सिर्जना गर्न ठूलो मद्दत गर्ने एनसेलले जनाएको छ । ‘नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नवीकरणमा’ भन्ने नाराका साथ सुरु भएको यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्ताहरूलाई अनलाइन सेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए । एनसेल एपमा नासा सेक्युरिटिजलाई आवश्यक कामका लागि सम्पर्क गर्ने विकल्पहरू रहेको पनि उनले बताए । यस सहकार्यमा एनसेलले आफ्नो एपमार्फत नासा सेक्युरिटिजमा पहुँचमात्र सुनिश्चित गरेको उनको भनाइ छ ।

झिनो अंकले घट्यो नेप्से, माइक्रोफाइनान्समा उत्साह

काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से  ३.९७ अंक घटेको छ । घटेसँगै नेप्से २०७९.०७ बिन्दुमा झरेको छ । । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ३१६ स्टकको ८८ लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको भएको छ । हिजो ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । आज ११० कम्पनीको मूल्य बढ्दा १२९ को घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ ।  १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त उपसमूहको परिसूचक उच्च दरमा बढेको छ । लघुवित्त उपसमूहको परिसूचक २.४३ प्रतिशत बढेको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ । त्यसै हिमालयन लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थान स्थानमा रहेका छन् । कम्पनीको १४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । आज सेन्सेटिभ इण्डेक्स १.५८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ इण्डेक्स ०.४४ अंक घटेको छ ।  

आईपीओ निष्कासनको तयारीमा रहेको ठमेल प्लाजाको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइट्सले आजबाट सेयरधनीका लागि हकप्रद सेयर बिक्री खुला गरेको छ । होटलले आफ्ना सेयरधनीले चुक्ता गरेको सेयरको ७०.३० प्रतिशतले हुन आउने हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले सोमबार एक सूचना प्रकाशित गरी जेठ १९ गतेको विशेष साधारण सभाबाट साविक जारी गरिएको २० प्रतिशत हकप्रद समेत समेटी आफूले चुक्ता गरेको सेयरको ७०.३० प्रतिशतसम्मको सीमाभित्र हुने गरी संस्थापक सेयरधनीका लागि जेठ २१ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरिएको जानकारी गराएको हो । आईपीओ निष्कासनको तयारीमा रहेको यस कम्पनीले हकप्रद सेयरमा असार २३ गतेसम्म खरिद निवेदन दिन सकिने जनाएको छ। होटलले सर्वसाधारणलाई आइपीओ जारी गर्नुअघि संस्थापकलाई हकप्रद जारी गरेको हो । होटलको जेठ १९ गते सम्पन्न विशेष सभाले आईपीओ जारी गर्ने निर्णय गरेको थियो ।