सर्वसाधारणका लागि प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार १२० सय कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले सूचना प्रकाशित भएको ७ दिनभित्रआवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने
काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित असार आगामी ६ गते प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले डिल्लीबजरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, पूँजी संरचना संशोधन, अन्य नयाँ परियोजनामा लगानी गर्ने,कम्पनीको चुक्तापूँजी भन्दा बढी ऋण लिएको ऋणको अनुमोदन तथा थप ऋणको सम्बन्धमा छलफल एंव निर्णय गर्ने र गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै उक्त अवधिको वित्तीय विवरणहरू समेत पारित गरिनेछ । कम्पनीले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा राखिएको सेयर संख्या भने खुलाएको छैन । यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र काभ्रेपलाञ्चो बनेपास्थित बैंकको कर्पोरेट कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।