प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ । यो सेयरका खरिदका लागि जो कोही व्यक्ति, संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ । गोप्य शिलबन्दी आवेदन पेस गर्दा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् ।
श्री डिष्टिलरीले आईपीओ निष्कासन गर्ने
काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समिति निर्णयअनुसार सभा काठमाडौं बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा २ बजे देखि सुरु हुनेछ । सभाले सर्वसाधारणका लागि छुट्याइएको आईपीओ निष्कासन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
साल्ट ट्रेडिङ कर्पोरेशनको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको चैत २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिएको हो । कम्पनीको यो सेयर चैत ८ गतेसम्म सेयर कायम गर्ने सेयरधनीहरूले मात्र प्राप्त गरेका हुन् । उक्त मितिपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरूको पनि क्रमशः डिम्याट खातामा बोनस सेयर जम्मा गराइने कम्पनीले जनाएको छ । हालसम्म पनि सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरूलाई भने कम्पनीले सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । साथै, कम्पनीको विभिन्न साधारण सभाबाट पारित भएको लिन बाँकी बोनस सेयर र नगद लाभांश कम्पनीको सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी लिन आउन समेत आग्रह गरिएको छ ।