साना किसान विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट लिमिटेडको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ । यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था र अन्य विद्यमान संस्थापकहरूले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । सेयरको बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल रहेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असार १९ गतेभित्र आवेदन दिन सक्नेसछन् । लगानीकर्ताले बबरमहलमा रहेको क्यापिटललको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू विर्तामोड, इटहरी, बर्दिवास, हेटौँडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तिरियामा आवेदन दिन सक्नेछन् ।

कुमारी बैंकको २ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बिहीबार एक सूचना प्रकाशन गर्दै विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख २३ हजार ४५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो । उक्त सेयर संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएकाले खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने र निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

बजेट पछिको पहिलो कारोबारमा २३.८१ अंकले घट्यो नेप्से

काठमाडौं । बजेट पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक १.१२ प्रतिशतले घटेको छ । नेप्से २३.८१ अंक अर्थात् १.१२ प्रतिशतले घटेर २०८९.४२ बिन्दुमा कायम भएको छ । बजेट पछिको पहिलो कारोबार दिन सेयर बजारमा लगानीकर्ताको आकर्षण नदेखिएको हो । बजेटले कर सम्बन्धि कुनै हेरफेर नगरेपछि लगानीकर्ताहरू निराश भएका हुन् । नेप्से घटेपनि बुधबार कारोबार रकम भने बढेको छ । बुधबार ३१४ स्टकको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसअघि ३ अर्ब ८९ करोडको सेयर खरिदबिक्री भएको थियो । आज युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, बुधबार पोखरा फाइनान्सको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.४१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ । आज बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशत घटेको छ । बुधबार सेन्सेटिभ इण्डेक्स ४.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ ।