एभरेष्ट कलरका उत्पादनले पाए नेपाल गुणस्तर चिन्ह, आईपीओको तयारीमा कम्पनी
काठमाडौं । स्वदेशी रङ उत्पादन कम्पनी एभरेष्ट कलरले विभिन्न उत्पादनका लागि नेपाल गुणस्तर प्रमाण (एनएस) चिन्ह प्राप्त गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले चितवनको खैरहनीस्थित एभरेष्ट कलरका विभिन्न ब्रान्डका रङ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह प्रयोग गर्न अनुमति दिएको हो । कम्पनीले यसअघि सन् २०२३ मै अन्तर्राष्ट्रियस्तरको आईएसओ ९००१ः२०१५ (क्वालिटी म्यानेजमेन्ट सिस्टम) प्रमाणपत्र प्राप्त गरिसकेको थियो । अब राष्ट्रियस्तरको गुणस्तर मान्यता समेत प्राप्त गरेसँगै कम्पनीका उत्पादनको विश्वसनीयता थप मजबुत भएको कम्पनीको दाबी छ । विभागकी महानिर्देशक कुमारी ज्योति जोशीद्वारा स्वीकृत इजाजतपत्रअनुसार कम्पनीले जेठ १८ गतेदेखि विभिन्न ब्रान्डका ५०० एमएल, १ लिटर, ४ लिटर, १० लिटर तथा २० लिटर क्षमताका उत्पादनमा नेपाल गुणस्तर चिन्ह प्रयोग गर्न पाउने भएको छ । विभागका अनुसार एभरेष्ट कलरका इनामेल पेन्ट, प्लास्टिक इमल्सन पेन्ट, सिमेन्ट प्राइमर तथा वुड प्राइमरअन्तर्गतका विभिन्न उत्पादनले एनएस चिन्ह प्राप्त गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोज लुइटेलले नेपाल सरकारले निर्धारण गरेको कडा मापदण्ड पूरा गरेपछि मात्रै प्राप्त हुने गुणस्तर चिन्हले कम्पनीका उत्पादन सुरक्षित र भरपर्दो रहेको पुष्टि गरेको बताए । ‘उपभोक्ता, डिलर तथा प्राविधिकहरूको निरन्तर विश्वास र सहयोगकै कारण यो उपलब्धि हासिल भएको हो,’ उनले भने, ‘एनएस चिन्हले एभरेष्ट कलरका उत्पादनको गुणस्तरप्रतिको प्रतिबद्धतालाई थप प्रमाणित गरेको छ ।’ एभरेष्ट कलरले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी पनि गरिरहेको जनाएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ ।
१८४ कम्पनीको सेयर मूल्य बढ्यो, ५ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२ अंकले बढेर २ हजार ७७७ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८४ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २६ कराेड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्सको २६ करोड ७८ लाख, रिडिपावरको २६ करोड, ५ लाख, सेन्ट्रल फाइनान्सको २२ करोड र हिमालयन रिइन्स्योरेन्सको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सेन्ट्रल फाइनान्स, क्रेष्ट माइक्रो लाइफ, नेपाल रिइन्स्योरेन्स र गुरखाज फाइनान्सको लगानीकर्ताले कमाएका छन् । आज १२ उपसमूहको सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.१४ प्रतिशत, डेभलपमेन्ट बैंकको ०.५९ प्रतिशत, फाइनान्स ६.०३ प्रतिशत, होटल तथा पर्यटन ०.१२ प्रतिशत, हाइड्रोपावर ०.६१ प्रतिशत, इनभेष्टमेन्ट ०.२० प्रतिशत र लाइफ इन्स्योरेन्स ०.२७ प्रतिशत बढेका छन् । साथै माइक्रो फाइनान्स ०.४० प्रतिशत, म्यूचल फन्ड ०.२९ प्रतिशत, नन लाइफ इन्स्योरेन्स, अन्य ३.८४ प्रतिशत र ट्रेडिङ १.१३ प्रतिशतले बढेका छन् ।
माण्डु हाइड्रोपावरको १०.५२ प्रतिशत लाभांश घोषणा
काठमाडौं । माण्डु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव सुन्दर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६लाख ३७ हजार रुपैयाँको १० प्रतिशतका दरले १३ करोड ६३ लाख ६३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले ७१ लाख ७७ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।