कालिन्चोक हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १ गते अन्तिम दिन रहेको छ । फागुन १३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १३ लाख ७५ हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याएको सेयरमा दोलखाको बिगु नगरपालिका-८, कालिन्चोक गाउँपालिका-१ र २ का स्थानीयले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका-८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सिङगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

नेपाल पुनर्बीमाबाट बाहिरिँदै युनाइटेड अजोड, पौने १ अर्बको सेयर बिक्रीमा राख्यो

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स नेपाल पुनर्बीमा (नेपाल रिइन्स्योरेन्स) कम्पनीबाट बाहिरिने भएको छ । युनाइटेड अजोड इन्स्योरेन्सले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रूपैयाँको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको २१ लाख ७१ हजार ९३५ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा युनाइटेड अजोड इन्स्योरेन्सले ८६ करोड ८७ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत ५ गतेदेखि चैत १९ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । खरिद गर्न इच्छुकले तोकिएको न्यूनतम मूल्य वा सो भन्दा बढी तोकि आवेदन दिनुपर्नेछ । बोलपत्र पेस गर्दा कम्तीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । 

सोपान फर्मास्युटिकल्सले चैत ९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिनेछ । साथै, बाँकी रहेको ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्तालाई सुरक्षित राखेको कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।