नेशनल लाइफबाट बाहिरिँदै स्वदेशी सेक्युरिटिज, सेयर मूल्य १८५ रुपैयाँ
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थागत संस्थापक सेयरधनी स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखिएको हो । कम्पनीले स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको १५ हजार ९४५ कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको सेयरको मूल्य १८५ रुपैयाँ तोकिएको छ । कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज १३ गतेदेखि असोज २० गतेम्मि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र अधिकतमा सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
बोनस सेयर दिने निर्णय सही भएको अपिको दाबी, सहायक कम्पनीको आम्दानीप्रति आयोगको विमति
आयोगका अध्यक्ष रामप्रसाद धिताल र कम्पनीका अध्यक्ष सृजना खड्का काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश दिने निणर्य गर्याे । उक्त निणर्य भदौ ७ गतेको सञ्चालक समितिले गरेको हो । निणर्य सार्वजनिक भएपछि कम्पनीको सेयर प्रतिकित्ता ३९० सम्म कारोबार भयो । असोज १० गते विद्युत नियमन आयोगले अपि पावरलाई लाभांश वितरण गर्न रोक लगाउने निणर्य गर्याे । उक्त निणर्यबारे अपिले १० गतेको सेयर कारोबार बन्द भएपछि मात्र सार्वजनिक गर्याे । यस दिन कम्पनीको अन्तिम सेयर प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा भयो । यो दिने नेप्सेमा सबैभन्दा बढी ४७ करोड ९९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार पनि अपिकै भयो । अपि पावर कम्पनी सहायक कम्पनीबाट पाउनु पर्ने रकमलाई गणना गरी लाभांश प्रस्ताव गरेको तर उक्त रकम अपिको खातामा आइनसकेको टिम्पणी कम्पनीको लेखापरीक्षकले नै गरेको आधारमा बोनस सेयर रोक्ने निर्णय भएको विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले बताए । आयोगले कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) बमोजिम नाफा वितरणमा रोक लगाएको पत्र अपि पावरलाई पठाएको विद्युत नियमन आयोगका प्रवक्ता मनदेवी श्रेष्ठले बताइन् । उक्त दफामा ‘कम्पनीले गरेको मुनाफा वा मुनाफाबाट सृजित कोषबाट बाहेक कम्पनीको सम्पत्तिको पुन:मूल्याकंन गरी सेयर पुँजी वृद्धि गर्न वा बोनस सेयर निष्काशन गर्न हुँदैन’ भनिएको छ । तर अपि पावरले भने कम्पनीले बोनस सेयर दिने भनी गरेको निर्णय सही भएको दावी गर्दै प्रस्तावित लाभांशलाई स्वीकृति गराउने विषयमा कम्पनीले आवश्यक कार्य गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । अपिले भनेको छ, ‘कम्पनी ऐन, २०६३ को दफा १०८ को उपदफा (२) बमोजिम कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रूपमा प्रतिबिम्वित हुनेगरी प्रचलित कानुनन बमोजिम अधिकार प्राप्त निकायले लागु गरेको लेखामान अनुरूप अपि पावर कम्पनी लिमिटेडले नेपाल लेखा प्रतिवेदन मान अनुरूप कम्पनीको आ.व. २०८०/८१ को वित्तीय विवरण तयार गरेको र सो बमोजिम कम्पनीको लेखा परीक्षण गरिएको छ । नेपाल लेखा प्रतिवेदन मान बमोजिम यस कम्पनीले विभिन्न कम्पनीहरूमा गरेको सेयर लगानीलाई नाफा नोक्सान हिसाबमार्फत बजार मूल्य अनुरूप लेखाङ्कन गरिएको र सो बमोजिम बजार मूल्यको थप घट रकमलाई कम्पनीको नाफा नोक्सान हिसाबमा नाफा/घाटा लेखाङ्कन गरी सो बापत सिर्जना हुने स्थगत करसमेतको व्यवस्था गरी कम्पनीको मुनाफा गणना गरिएको छ । यसरी नेपाल लेखा प्रतिवेदन मान बमोजिम लेखाङ्कन गरिएको मुनाफा सम्पत्तिको पुनर्मूल्यांकन नभई नियमित मुनाफा सरह रहने हुन्छ ।’ ‘कम्पनी ऐनको दफा ५६ ले कम्पनीको सेयर पूँजी हेरफेर गर्ने अधिकारको व्यवस्था गरेको र सो दफाको उपदफा (१०) ले कम्पनीले गरेको मुनाफा तथा मुनाफाबाट सिर्जित कोषबाट बाहेक सम्पत्तिको पुनर्मूल्यांकन गरी सेयर पूँजी वृद्धि गर्न वा बोनस शेयर निष्काशन गर्न बर्जित गरेको छ । यस सम्बन्धमा नेपाल लेखा मान -१६ मा स्थिर सम्पत्ति सम्बन्धमा पुनर्मूल्यांकनको व्यवस्था रहेको छ र सो बमोजिमको फरकलाई नाफा नोक्सन हिसाबमा नदेखाई अलग्गै पुनर्मूल्यांकन कोषमा सार्नुपर्ने व्यवस्था रहेको छ जुन कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) बमोजिम नै रहेको छ । तर एनएफआरएस ९ बमोजिम कम्पनीको नाफा नोक्सान हिसाबमार्फत सिर्जित मुनाफालाई पुनर्मूल्यांकनको नाफा भनेर व्याख्या गर्नु प्रचलित ऐन तथा नेपाल लेखा प्रतिवेदन मानको मर्म तथा व्यवस्था प्रतिकूल हुन्छ । यस बमोजिम अपि पावर कम्पनी लिमिटेडले कम्पनीको खुद मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई ९ प्रतिशतका दरले बाेनश सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निणर्य कानुनसम्मत रहेको छ, ’ कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अपि पावर कम्पनी लिमिटेडले यस विषयमा नियमनकारी निकाय विद्युत नियमन आयोगमा आवश्यक थप कागजपत्रसहित पत्राचार गरी थप छलफल गरी सो विषयमा आवश्यक पुष्टि गरी प्रस्तावित लाभांशलाई स्वीकृति गराउने विषयमा कार्य गर्ने निणर्यसमेत गरेको जनाएको छ ।
अरुण काबेलीको साधारणसभा कार्तिक ४ गते
काठमाडौं । अरुण काबेली पावर लिमिटेडले कार्तिक ४ गते साधारणसभा आह्वान गरेकाे छ । साधारणसभामा असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिनसक्ने छन् । साधारणसभा प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । साधारणसभामा आर्थिक वर्ष २०८० /८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने कम्पनीले जनाएकाे छ । यसैगरी, लेखा परीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने जनाइएकाे छ । कम्पनीले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरी संकलन गरेको रकममध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिहेको ‘काबेली ए जलविद्युत आयोजना’को सेयरमा लगानी गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, काबेली इनर्जी लिमिटेडले निर्माण गरिहेको ‘काबेली ए जलविद्युत आयोजना’ ३ दशमलव ६० मेगावाटमा कर्जा लगानी गर्ने कुमारी बैंकलाई यस कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएकाे छ ।