सिद्धार्थ बैंकबाट बाहिरिदैँ ४ जना संस्थापक
काठमाडौं । सिद्धार्थ बैंकका चार संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेका छन् । उनीहरूले आफ्नो स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता सेयर बिक्री गरेर बैंकबाट बाहिरिन लागेका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनी कृष्णराज पराजुलीले आफ्नो नाममा रहेको १ लाख १० हजार कित्ता र कृष्णकुमारी गुरुङले ४७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखेका छन् । पराजुली र गुरुङको नाममा रहेको सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । यस्तै, लीलादेवी शारदाले २ लाख ७२ हजार ७३७ कित्ता र अजयकुमार जालानले ३८ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । शारदा र जालानको नाममा रहेको सेयर खरिदका लागि सर्वसाधारण लगानीकर्ता समेतले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
सेयर बजारमा साढे ५ अर्बको कारोबार
काठमाडौं । सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२५ अंकले घटेर २६४१ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको १ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सोलु हाइड्रोको ३८ करोड, रिडि पावरको १६ करोड, खानीखोला हाइड्रोको १५ करोड र विकास हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सर्वोत्तम पेन्टस् र माउन्ट एभरेष्टको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
एनएमबीका तीन म्युचुअल फन्डको लाभांश घोषणा, कुनले कति दिने ?
काठमाडौं । एनएमबी क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएका तीन वटा सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छन् । कम्पनीले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ र एनएमबी हाइब्रिड फन्ड एल–२ का इकाइधनीलाई क्रमशः ३.१५ प्रतिशत, १० प्रतिशत र ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । एनएमबी क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ । लाभांश वितरण प्रयोजनका लागि तीनवटै योजनाको इकाइधनी दर्ता किताब (बुक क्लोज) भदौ ८ गते एक दिनका लागि बन्द हुने भएको छ । बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम रहेका इकाइधनीले घोषित प्रतिफल प्राप्त गर्नेछन् ।