हेल्दी होम २१ वर्षमा, नयाँ प्रविधि र सेवामा लगानी बढाउने

काठमाडौं । नेपालमा समग्र स्वास्थ्य, वेलनेस र एस्थेटिक सेवा प्रदान गर्दै आएको हेल्दी होमले आफ्नो स्थापना दिवसको २१औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले दुई दशकभन्दा लामो यात्रामा ग्राहकको विश्वासलाई मुख्य उपलब्धिका रूपमा लिँदै अब नयाँ नेतृत्वसँगै सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा केन्द्रित हुने जनाएको छ । २०६३ सालमा मोहन भुसाल र कृष्ण भट्टराईद्वारा स्थापना गरिएको हेल्दी होमले हाल काठमाडौं र पोखरामा आफ्ना शाखामार्फत सेवा दिँदै आएको जनाएको छ । संस्थाका अनुसार हालसम्म ५० हजारभन्दा बढी सेवाग्राहीले यसको सेवा लिइसकेका छन् । वार्षिकोत्सव कार्यक्रममा संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यात्रा संस्थाका लागि उपलब्धिमात्र नभई थप जिम्मेवारीको सुरुआत भएको बताए । ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सेवाप्रतिको प्रतिबद्धताले संस्थालाई यहाँसम्म ल्याएको उल्लेख गर्दै उनले आगामी दिनमा नेपालभित्र र बाहिर पनि हेल्दी होमको सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए । उनले संस्थाको सुरुआती उद्देश्य उपचारमात्र नभई स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्नु रहेको उल्लेख गर्दै अब नयाँ पुस्ताको नेतृत्वसँगै सोही मूल्य र दृष्टिकोणलाई अझ व्यापक बनाइने बताए । कार्यक्रममा हेल्दी होमका म्यानेजिङ डाइरेक्टर मन्दिप भुसालले संस्थापकले स्थापित गरेको विश्वासलाई नयाँ प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । आगामी वर्षहरूमा नयाँ शाखा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा थप नागरिकको पहुँचमा पुर्‍याउने योजना रहेको उनले बताए । वार्षिकोत्सवको अवसरमा कम्पनीले विशेष ग्राहक सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो । लक्की ड्रमार्फत नगद पुरस्कार तथा विभिन्न सेवा प्याकेज प्रदान गरिएको कम्पनीले जनाएको छ । हेल्दी होमले आगामी चरणमा ब्रान्ड विस्तार, अत्याधुनिक प्रविधिको प्रयोग तथा वेलनेस र एस्थेटिक क्षेत्रमा नवीन सेवामार्फत आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।

८ महिनामै २६ लाख लाइसेन्स छापियो, साउनपछि राजस्व बुझाएकाले तुरुन्तै पाउने

काठमाडौं । लामो समयदेखि थन्किएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम अन्तिम चरणमा पुगेको छ । सम्झौता भएको करिब साढे ८ महिनामै पुराना मितिका करिब २९ लाख लाइसेन्समध्ये २५ लाख ९२ हजार ४ सय १७ वटा लाइसेन्स छापिसकिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाँकी ३ लाख ७ हजार ५ सय ८३ वटा लाइसेन्स भने एक वर्षभन्दा कम समयावधिका भएकाले नवीकरणपछि मात्र छापिनेछन् ।  यातायात व्यवस्था विभागबाट प्राप्त विवरणअनुसार छाप्नुपर्ने सबै योग्य लाइसेन्सको छपाइ सम्पन्न भइसकेको केन्द्रले जनाएको छ । पुराना लाइसेन्स छपाइका लागि विभाग र सुरक्षण मुद्रण केन्द्रबीच पहिलो चरणमा १२ लाख लाइसेन्स छाप्ने सम्झौता २०८२ कात्तिक १२ गते भएको थियो ।  उक्त सम्झौताअनुसार २०८३ वैशाख १२ भित्र पहिलो लटको छपाइ सम्पन्न गरी विभागलाई हस्तान्तरण गरिएको थियो ।  त्यसपछि २०८३ वैशाख ४ गते दोस्रो चरणमा १७ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो । जसअनुसार २०८३ असार ३२ भित्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।  विभागका अनुसार पुराना लाइसेन्स छपाइ भइरहेका बेला अत्यावश्यक सेवासम्बन्धी काम भने रोकिएको थिएन । पहिलो चरणमा ३७ हजार ६ सय ९८ अत्यावश्यक तथा दैनिक राजस्व बुझाएका ३१ हजार २ सय २७ वटा लाइसेन्स नियमित रूपमा छापिएको थियो ।  दोस्रो चरणमा पनि पुराना लाइसेन्ससँगै ४ हजार ८ सय ८१ अत्यावश्यक तथा ट्रायल पास गरी वा नवीकरणपछि राजस्व बुझाएका २ लाख २९ हजार ९ सय १८ वटा नयाँ लाइसेन्स पनि छापिएको विभागले जनाएको छ । अब पुराना मितिका लाइसेन्सको छपाइ सम्पन्न भएकाले साउन महिनादेखि ट्रायल पास गर्ने तथा नवीकरणपछि राजस्व बुझाउने सेवाग्राहीले लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ । सुरक्षण मुद्रण केन्द्रका अनुसार अब आवश्यक प्रक्रिया पूरा गर्ने सेवाग्राहीले लाइसेन्स छिट्टै प्राप्त गर्नेछन् ।  छापिएका लाइसेन्सहरू सुरक्षण मुद्रण केन्द्रबाट यातायात व्यवस्था विभागमा पठाइने र विभागले हुलाक सेवामार्फत देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयमा वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

मानसिक स्वास्थ्यसम्बन्धी अभियान देशव्यापी रूपमा चलाइने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ । मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख, सातै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकले संघ, प्रदेश र स्थानीय तहका विद्यमान स्वास्थ्य संरचनामार्फत मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम समुदाय तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।  विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचारमा रहेका बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श र निगरानीमा जोड दिइने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्यसम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन ११६६ र हेलो स्वास्थ्य १११५ सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क नम्बरबारे व्यापक प्रचारप्रसार गरिनेछ ।  मोबाइल रिङ ब्याकटोन, सामाजिक सञ्जाल, पोस्टर, भिडियो सन्देश, टिकटक रिल तथा अनलाइन काउन्सेलिङमार्फत पनि जनचेतना अभियान सञ्चालन गर्ने निर्णय भएको छ । बैठकले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लब, सामी परियोजना तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका जनशक्तिलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको छ । साथै आयुर्वेद अन्तर्गत योग, ध्यान तथा मनोसामाजिक सेवासमेत अभियानसँग जोडिनेछ । मन्त्रालयले अस्पतालमा उपलब्ध मानसिक स्वास्थ्य सेवाको प्रचारप्रसार, निःशुल्क औषधिको मौज्दात सुनिश्चित गर्ने, मानसिक स्वास्थ्य सेवा नियमित स्वास्थ्य सेवामा एकीकृत गर्ने तथा आवश्यकताअनुसार अस्पतालहरूमा साइकोसोसियल हेल्थ डेस्क स्थापना गर्ने तयारी पनि अघि बढाउने जनाएको छ । त्यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्राप्त जनशक्तिको विवरण अद्यावधिक गरी परिचालन गर्ने, उपचारबाट बाहिरिएका (डिफल्टर) बिरामीको खोज तथा पुनःउपचारमा ल्याउने, लुकेर बसेका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पहिचान गरी उपचारको दायरामा ल्याउने तथा छात्रवृत्ति चिकित्सक परिचालनका लागि मापदण्ड तयार गर्ने विषयमा समेत बैठकमा निर्णय भएको छ । बैठकले चालु आर्थिक वर्षका बाँकी अवधिमै प्रारम्भिक कार्यक्रम सुरु गरी आगामी आर्थिक वर्षको साउनदेखि देशव्यापी रूपमा थप प्रभावकारी अभियान सञ्चालन गर्ने तथा मानसिक स्वास्थ्यलाई संस्थागत स्वास्थ्य सेवाभन्दा समुदायमा आधारित परामर्श र सेवासँग जोडेर अघि बढाउने निष्कर्ष निकालेको छ ।