ट्रमा सेवा विस्तार र दुर्घटना उपचार सहज बनाउन प्रदेश सरकारको प्रतिबद्धता
काठमाडौं । बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन सरकारी अस्पतालमा ट्रमा सेवा विस्तार गर्ने, ट्रमा सेन्टरको क्षमता अभिवृद्धि गर्ने तथा आवश्यक कानुनी र नीतिगत व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग शनिबार भएको छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएको महासङ्घले जनाएको छ । मुख्यमन्त्री बानियाँले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई उचित क्षतिपूर्ति सुनिश्चित गर्ने, घाइतेको उपचारलाई सहज बनाउने तथा सम्बन्धित निकाय र यातायात व्यवसायीसँग समन्वय गरी आवश्यक सुधार अघि बढाइने विश्वास व्यक्त गरे । उनले दुर्घटनापछि घाइतेको प्राथमिक उपचार सरकारी अस्पतालमै सुनिश्चित गर्ने दिशामा आवश्यक कानुनी तथा नीतिगत पहल गरिने पनि बताए । भेटका क्रममा महासङ्घले विशेषगरी काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम, दुर्घटनापछिको क्षतिपूर्ति वितरण प्रक्रिया तथा घाइतेको उपचारसँग सम्बन्धित समस्या समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो । महासङ्घका अध्यक्ष सिटौलाले हालको बीमा व्यवस्थाअनुसार घाइतेको उपचार खर्च अधिकतम तीन लाख रुपैयाँसम्म मात्र उपलब्ध हुने भएकाले महँगा निजी अस्पतालमा उपचार गराउँदा व्यवसायी र पीडित दुवै आर्थिक रूपमा समस्यामा पर्ने गरेको बताए । उनले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, दुर्घटनापछिको उपचार प्रणाली सुधार गर्ने र क्षतिपूर्ति वितरण प्रक्रियालाई व्यावहारिक तथा समयानुकूल बनाउन प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए । सिटौलाले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन जिपिएस प्रणाली जडान, अनलाइन टिकटिङ, सिसी क्यामेरा जडान तथा यात्रुले तोकिएको स्थानबाट अनिवार्य रूपमा टिकट लिएर मात्र यात्रा गर्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत वातावरण निर्माण गरिदिन पनि आग्रह गरे । मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सङ्घीय राजधानी रहेको प्रदेश भएकाले देशभरका ६० प्रतिशतभन्दा बढी सवारीसाधनको चाप यहीँ रहने उल्लेख गर्दै ट्राफिक सुधार, दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर सक्रिय रहने बताए । यातायात व्यवसायीहरूले ट्राफिक व्यवस्थापन, दुर्घटनापछिको उपचार प्रणाली र क्षतिपूर्ति व्यवस्थामा सुधार भए सार्वजनिक यातायात सेवा थप सुरक्षित, भरपर्दो र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् ।
रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन
काठमाडौं । रुसको राजधानी मस्कोमा दुईवटा ह्युमनोइड (मानव स्वरूपका) रोबोटबीच एक विशेष समारोहका बीच विवाह दर्ता सम्पन्न भएको छ । प्रविधिको विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई प्रदर्शन गर्ने उद्देश्यले आयोजित यस अनौठो कार्यक्रममा दुई रोबोटले एक–अर्काप्रति प्रेम र प्रतिबद्धता व्यक्त गरेका हुन् । आधिकारिक विवाह दर्ता कार्यालयको झल्को दिने गरी आयोजना गरिएको उक्त समारोहमा रोबोटहरूले मानव वैवाहिक परम्पराझैं संवाद गरेका थिए । कार्यक्रमका क्रममा दुवै रोबोटले एक–अर्कालाई जीवनसाथीका रूपमा स्वीकार गर्ने घोषणा गरेपछि उपस्थित पाहुनाहरूले उनीहरूको ‘मिलन’लाई ताली बजाएर स्वागत गरेका थिए । यस प्रकारको समारोहले भविष्यमा मानव र मेसिनबीचको अन्तरक्रिया तथा रोबोटिक्सको सामाजिक भूमिकाबारे नयाँ बहस छेडिदिएको छ । प्रविधि क्षेत्रका विज्ञहरूका अनुसार यो कार्यक्रम केवल एक प्रदर्शनी मात्र नभई रोबोटले मानव संवेदना र व्यवहारलाई कुन हदसम्म आत्मसात् गर्न सक्छन् भन्ने प्रयोग पनि हो । यद्यपि यो विवाह कानुनी रूपमा मानव विवाहसरह मान्यता प्राप्त नभए पनि यसलाई प्रविधि र मनोरञ्जनको क्षेत्रमा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ । रुसमा यसअघि पनि प्रविधिसम्बन्धी विभिन्न प्रयोगहरू हुँदै आएका छन्, तर ह्युमनोइड रोबोटबीचको यो औपचारिक विवाह समारोहले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको ध्यान खिच्न सफल भएको छ ।
नेपालमा साढे ३ अर्बको शाओमी मोबाइल बिक्री, वत्सल इम्पेक्सको १.८० अर्ब ऋण
काठमाडौं । शाओमी ब्रान्डको काठमाडौं क्षेत्रका लागि आधिकारिक वितरक वत्सल इम्पेक्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा ३ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ५.५८ प्रतिशत अर्थात् २२ करोड ९० लाख रुपैयाँले कम हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी ४ अर्ब १० करोड रुपैयाँ रहेको थियो । कम्पनीका अनुसार आव २०७९/८० मा ३ अर्ब ३३ करोड ४० लाख रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ५ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा ५ अर्ब ४४ करोड ३० लाख रुपैयाँ, आव २०७६/७८ मा २ अर्ब १३ करोड रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब १६ करोड ५० लाख रुपैयाँ, आव २०७४/७५ मा १ अर्ब ७ करोड ३० लाख रुपैयाँ र आव २०७३/७४ मा ७१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको कुल आम्दानीमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा अझै पनि शाओमी ब्रान्डका मोबाइल फोन तथा सहायक सामग्रीको बिक्रीबाट आउने गरेको छ । यसले कम्पनीको आम्दानी संरचना शाओमी उत्पादनमै बढी निर्भर रहेको देखाउँछ । सन् २०१२ मा स्थापना भएको वत्सल इम्पेक्स काठमाडौं क्षेत्रका लागि शाओमी स्मार्टफोनको आधिकारिक वितरक हो । नेपालमा स्मार्टफोनमा शाओमीको बलियो उपस्थिति रहेको छ भने सबैभन्दा धेरै आयात हुने स्मार्टफोन ब्रान्डमध्ये एक मानिन्छ । कम्पनीले इजभिजका सुरक्षा क्यामेरा तथा सम्बन्धित उत्पादनहरू पनि नेपालभर वितरण गर्दै आएको छ । कम्पनीको दर्ता कार्यालय काठमाडौंको थापाथलीमा रहेको छ । सन् २०२६ को अप्रिल मध्यसम्म कम्पनीको बिक्री सञ्जालअन्तर्गत १४ डिलर र करिब ५०० खुद्रा विक्रेता रहेका छन् । वत्सल इम्पेक्स शारदा समूहअन्तर्गत सञ्चालनमा रहेको कम्पनी हो । शारदा समूहले नेपालमा उत्पादन, व्यापार, बैंकिङ तथा आवासलगायत विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरेको छ । हाल कम्पनीको सेयर स्वामित्व ६ जना व्यक्तिमा रहेको छ, जसमध्ये ५ जना शारदा परिवारसँग सम्बन्धित छन् । कम्पनीका अध्यक्ष बिनित कुमार शारदा हुन् भने नितेश कुमार मुन्द्रा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् । कम्पनी सन् २०१२ देखि स्मार्टफोन वितरण व्यवसायमा सक्रिय छ । सुरुआती चरणमा यसले भिडियोकोन र पर्पल ब्रान्डका मोबाइल फोन वितरण गर्दै आएको थियो । पछि शाओमीसँग नयाँ वितरण सम्झौता भएपछि ती ब्रान्डको वितरण बन्द गरिएको थियो । यद्यपि, कम्पनीका लागि केही चुनौती पनि देखिएका छन्। भारतसँगको खुला सीमाका कारण नेपाली बजारमा अनियन्त्रित ‘ग्रे मार्केट’ मार्फत मोबाइल फोन बिक्री हुने अवस्था अझै कायम छ । यस्तो अनौपचारिक बजारले आधिकारिक वितरकको व्यापार, मूल्य प्रतिस्पर्धा र बजार हिस्सामा असर पार्न सक्ने भएकाले यसलाई कम्पनीका लागि जोखिमपूर्ण पक्षका रूपमा हेरिएको छ । यसैबीच, कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८० करोड रुपैयाँ ऋण लिएको जनाएको छ ।