हेल्दी होम २१ वर्षमा, नयाँ प्रविधि र सेवामा लगानी बढाउने

काठमाडौं । नेपालमा समग्र स्वास्थ्य, वेलनेस र एस्थेटिक सेवा प्रदान गर्दै आएको हेल्दी होमले आफ्नो स्थापना दिवसको २१औँ वार्षिकोत्सव मनाएको छ । संस्थाले दुई दशकभन्दा लामो यात्रामा ग्राहकको विश्वासलाई मुख्य उपलब्धिका रूपमा लिँदै अब नयाँ नेतृत्वसँगै सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा केन्द्रित हुने जनाएको छ ।

२०६३ सालमा मोहन भुसाल र कृष्ण भट्टराईद्वारा स्थापना गरिएको हेल्दी होमले हाल काठमाडौं र पोखरामा आफ्ना शाखामार्फत सेवा दिँदै आएको जनाएको छ । संस्थाका अनुसार हालसम्म ५० हजारभन्दा बढी सेवाग्राहीले यसको सेवा लिइसकेका छन् ।

वार्षिकोत्सव कार्यक्रममा संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यात्रा संस्थाका लागि उपलब्धिमात्र नभई थप जिम्मेवारीको सुरुआत भएको बताए । ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सेवाप्रतिको प्रतिबद्धताले संस्थालाई यहाँसम्म ल्याएको उल्लेख गर्दै उनले आगामी दिनमा नेपालभित्र र बाहिर पनि हेल्दी होमको सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए ।

उनले संस्थाको सुरुआती उद्देश्य उपचारमात्र नभई स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्नु रहेको उल्लेख गर्दै अब नयाँ पुस्ताको नेतृत्वसँगै सोही मूल्य र दृष्टिकोणलाई अझ व्यापक बनाइने बताए ।

कार्यक्रममा हेल्दी होमका म्यानेजिङ डाइरेक्टर मन्दिप भुसालले संस्थापकले स्थापित गरेको विश्वासलाई नयाँ प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । आगामी वर्षहरूमा नयाँ शाखा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा थप नागरिकको पहुँचमा पुर्याउने योजना रहेको उनले बताए ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले विशेष ग्राहक सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो । लक्की ड्रमार्फत नगद पुरस्कार तथा विभिन्न सेवा प्याकेज प्रदान गरिएको कम्पनीले जनाएको छ ।

हेल्दी होमले आगामी चरणमा ब्रान्ड विस्तार, अत्याधुनिक प्रविधिको प्रयोग तथा वेलनेस र एस्थेटिक क्षेत्रमा नवीन सेवामार्फत आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।

Share News