१ हजार १०० मध्ये पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् ।  नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल रहेका छन् ।  पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उहाँहरुलाई नियुक्त गरिएको हो । बोर्ड सदस्यका लागि देशभरबाट १ हजार १०० वटा आवेदन परेको थियो ।  आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको बोर्डले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवद्र्धन, लगानी आकर्षण र सार्वजनिक–निजी साझेदारीलाई मजबुत बनाउन खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको हो । बोर्डले नवनियुक्त सदस्यको अनुभव र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तरराष्ट्रिय प्रवद्र्धन र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

यी हुन् विदेशी मुद्रा सटहीको कारोबार गर्ने एयरलाइन्सहरू

काठमाडौं । विदेशी मुद्रा सटहीको कारोबार गर्न ४१ वटा वायुसेवा कम्पनीले अनुमति पाएका छन् । नेपालमा आन्तरिक तथा बाह्य वायुसेवा कम्पनीले विदेशी मुद्राको कारोबार गर्न इजाजत पत्र लिएका हुन् । एयर डाइनेस्टी हेली सर्भिसेज, एयर इन्डिया लिमिटेड, एयरलाइन्स रिप्स नेपाल प्रा,लि,  अल्टिच्युड एयर प्रा,लि,अमरावती ट्राभल्स प्रालि (क्याथे प्यासिफिक एयरवेज लिमिटेड – जीएसए)  अमरावती ट्राभल्स प्रा,लि, (ओमान एयर) , बेसक्याम्प हेलिकप्टर प्रा,लि,  बिमान बंगलादेश एयरलाइन्स लिमिटेड (नेपाल शाखा), बुद्ध एयर प्रा.लि,  क्याथे प्यासिफिक एयरवेज लिमिटेड (काठमाडौं शाखा),चाइना सदर्न एयरलाइन्स कम्पनी लिमिटेड , ड्रुक एयर कर्पोरेशन लिमिटेड (नेपाल स्टेशन), एक्सप्लोर हिमालय ट्राभल इन्क प्रा.लि, (जीएसए – इथियोपियन एयरलाइन्स),  फिस्टेल एयर प्रा.लि,  हेली एभरेस्ट प्रा.लि, हिमालय एयरलाइन्स प्रा.लि,  आईएमई इन्टरनेशनल ट्राभल्स प्रा.लि,  जया भोयाज इन्टरनेशनल प्रालि (केएलएमरएयर फ्रान्सको जीएसए),जया भोयाज इन्टरनेशनल प्रा.लि. (डेल्टा एयरलाइन्स), कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेड , कोरियन एयरलाइन्स कम्पनी लिमिटेड, मलेसिया एयरलाइन्स बरहाद लिमिटेड, काठमाडौं शाखा ,माउन्टेन हेलिकप्टर्स प्रा।लि,नेपाल एयरलाइन्स निगम, प्रभु हेलिकप्टर लिमिटेड,  कतार एयरवेज ग्रुप, श्री एयरलाइन्स प्रा।लि, सिता एयर प्रालि, स्ट्रिम ट्राभल सर्भिसेज प्रालि, समिट एयर लिमिटेड, तारा एयर प्रालि, तासी एयर प्रालि, थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड,  टर्किस एयरलाइन्स इन्क प्रालि,  युनिभर्सल टुर्स एन्ड ट्राभल्स (फ्लाइ दुबई),  युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि, (एमिरेट्स एयरलाइन्स) ,युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि। (कोरियन एयरलाइन्स),  युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालि (थाई एयर एसिया), यती एयरलाइन्स लिमिटेड,  यती इन्सेन्टिभ्स ट्राभल प्रालि (जीएसएस् मालिन्डो एयरवेज) र यती इन्सेन्टिभ्स ट्राभल प्रालि (जीएसएस् थाई लायन मेन्तारी कम्पनी लिमिटेड ) रहेका छन् । आन्तरिक तथा बाह्य वायुसेवा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा कारोबार गर्ने अनुमति लिएका छन् । एयरलाइन्सहरूले विदेशी नागरिकहरूबाट हवाई टिकट बिक्रीवापत विदेशी मुद्रा लिने गरेका छन् ।  विदेशी पर्यटकको लागि डलर भाडादर लिने सन् १९९० देखि लिन थालिएको हो । पहिलोपटक नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) बाट सुरु भएको थियो । सोही व्यवस्थालाई निरन्तरता दिँदै आन्तरिक वायुसेवा कम्पनीले पनि डलरमा भाडा लिन थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त भएको पत्राचारको आधारमा विदेशीलाई विदेशी मुद्राबाट टिकट बिक्री वितरण गर्न डलर भाडाको सुविधा प्रदान गर्दै आएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको च.नं.६८ पत्र  २०६२ फागुन १ गतेको पत्र मार्फत नेपाल नागरिक उड्डयन प्राधीकरणलाई पत्राचार गरिएको थियो । सोही पत्रको आधारमा डलर भाडादर  कार्यान्वयनमा रहेको छ ।

एआईको मागले चीनको निर्यातमा नयाँ रेकर्ड

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ । अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ ।      चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७ प्रतिशत पुगेको हो । आयात पनि जुनमा ३६ प्रतिशतले बढेको छ । यो मे महिनाको २७.४ प्रतिशत वृद्धिभन्दा उच्च हो । विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढेको बताएका छन् ।      जुन महिनामा चीनले एक खर्ब २५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ । यो मे महिनाको एक खर्ब पाँच अर्ब ४० करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो । क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स–प्रिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमिकन्डक्टरको मूल्य बढ्नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताए । उनका अनुसार त्यसबाहेक पनि चिनियाँ उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ । विशेषगरी विद्युतीय सवारीसाधन (इभी), सेमीकन्डक्टर, इलेक्ट्रोनिक उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । एआईको विस्तारसँगै विश्वभर सेमिकन्डक्टर र उच्च प्रविधियुक्त उपकरणको माग बढेपछि चीनका उद्योगहरूले त्यसको प्रत्यक्ष लाभ लिइरहेका छन् । निर्यात क्षेत्रको मजबुतीले लामो समयदेखि सुस्त रहेको चीनको रियल स्टेट, घरेलु उपभोग र लगानीमा आएको कमजोरीको प्रभाव केही हदसम्म कम गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ । भन्सार तथ्याङ्कअनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात वार्षिक आधारमा १७.६ प्रतिशत र आयात २६.६ प्रतिशतले बढेको छ । चीनसँगको बढ्दो व्यापार घाटालाई लिएर अमेरिका र युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । उच्च भन्सार महसुललगायतका अवरोध पार गर्न चिनियाँ कम्पनीहरूले युरोपलगायत अन्य क्षेत्रमा उत्पादन केन्द्र विस्तार गरिरहेका छन् । साथै चीनले दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकी बजारमा पनि निर्यात उल्लेखनीय रूपमा बढाएको छ । बीएनपी पारिबास सेक्युरिटिज (चीन) का वेई लीले आगामी महिनाहरूमा निर्यात वृद्धि कायम रहने सम्भावना भए पनि यसको गति क्रमशः केही कमजोर हुन सक्ने बताए । उनका अनुसार अटोमोबाइल र एआईसँग सम्बन्धित उत्पादनको निर्यात विश्वव्यापी माग तथा विभिन्न देशका नियामकीय नीतिमा निर्भर रहनेछ । जुन महिनामा दक्षिणपूर्वी एसियातर्फ चीनको निर्यात करिब ३५ प्रतिशतले बढेको छ भने युरोपेली सङ्घ (इयु) तर्फ १८ प्रतिशत र ल्याटिन अमेरिकातर्फ २८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । अमेरिकातर्फको निर्यात पनि वार्षिक आधारमा करिब १४ प्रतिशतले बढेको छ । विश्लेषकहरूका अनुसार गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च भन्सार महसुल लागू गरेपछि आएको गिरावटको आधार प्रभावका कारण पनि पछिल्लो वृद्धि देखिएको हो । चीनले बुधबार अप्रिल–जुन त्रैमासिक आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ । चिनियाँ नेतृत्वले यस वर्ष ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । गत साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको यस वर्षको आर्थिक वृद्धिदरको अनुमान ४.६ प्रतिशतमा पुर्याएको थियो भने सन् २०२७ मा ४.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । यद्यपि सरकारले अटोमोबाइल र घरेलु उपकरणमा ‘ट्रेड–इन’ अनुदानजस्ता कार्यक्रममार्फत उपभोक्ता खर्च बढाउने प्रयास गरिरहे पनि सुस्त आर्थिक गतिविधिका कारण धेरै चिनियाँ उपभोक्ता अझै ठूलो मूल्यका वस्तु खरिद गर्न सावधानी अपनाइरहेका छन् । रासस