काठमाडौं । भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ हुने भएको छ । एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले दुई देशबीच निर्बाध सीमापार डिजिटल भुक्तानी प्रणालीलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएको हो ।
यसअन्तर्गत सर्वसाधारणले भारतबाट नेपाल र नेपालबाट भारतमा दुईतर्फी भुक्तानी प्रणालीमार्फत रियल–टाइममा रकम पठाउन सक्नेछन् । भारतीय यात्रुले नेपालका विभिन्न व्यवसायिक प्रतिष्ठानमा यूपीआईमार्फत क्यूआर कोड स्क्यान गरी तत्काल, सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सक्नेछन् ।
नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलले भारत र नेपालबीचको डिजिटल भुक्तानी प्रणालीलाई थप सहज बनाउने जनाएको छ ।
हालै भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच रेमिट्यान्स सम्बन्ध सुरु भएपछि दुई देशबीच ‘पर्सन–टू–पर्सन’ (पीटूपी) रियल–टाइम रकम स्थानान्तरण गर्न सहज भएको छ ।
भारतको रियल–टाइम अकाउन्ट–टु–अकाउन्ट भुक्तानी प्रणाली यूपीआईमार्फत मासिक २३ अर्बभन्दा बढी वित्तीय कारोबार हुने गरेको एनआईपीएलले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यूपीआईलाई विश्वकै ठूलो भुक्तानी प्रणालीका रूपमा मान्यता दिएको छ ।
नेपालमा बढ्दै यूपीआईको प्रयोग
नेपाल भ्रमणमा आउने भारतीय पर्यटकका लागि यूपीआई भुक्तानी सहज बन्दै गएको छ । सन् २०२५ मा मात्रै २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएका थिए ।
भारतबाट नेपाल आउने पर्यटकले मनोरञ्जन, धार्मिक यात्रा, व्यापार तथा पारिवारिक भ्रमणका क्रममा यूपीआईमार्फत भुक्तानी गर्न सक्नेछन् ।
चन्द्रागिरि हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरलगायत लोकप्रिय पर्यटकीय तथा धार्मिक स्थलमा समेत यूपीआई भुक्तानीको सुविधा उपलब्ध रहेको एनआईपीएलले जनाएको छ ।
यूपीआई भुक्तानीका कारण भारतीय यात्रुले नेपालमा नगद बोकेर हिँड्नुपर्ने तथा मुद्रा साट्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । फोनपे नेटवर्कमा आबद्ध व्यवसायीले समेत यूपीआई भुक्तानी स्वीकार गर्न सक्नेछन् ।
व्यवसायीलाई पनि फाइदा
यूपीआई भुक्तानी स्वीकार गर्दा नेपाली व्यवसायीले डिजिटल भुक्तानीमा अभ्यस्त ठूलो भारतीय ग्राहक समूहसम्म पहुँच पाउने कम्पनीले जनाएको छ ।
यसबाट छिटो भुक्तानी, नगद प्रवाह व्यवस्थापनमा सुधार र भौतिक मुद्रामाथिको निर्भरता कम हुने अपेक्षा गरिएको छ । खुद्रा व्यापार, होटल तथा आतिथ्य सेवा र दैनिक किनमेललगायत क्षेत्रमा यसको प्रयोग विस्तार हुने बताइएको छ ।
रेमिट्यान्स पठाउन पनि सहज
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको यूपीआई–एनपीआई सम्बन्धले भारत र नेपालबीच दुवैतर्फ रियल–टाइम पीटूपी रकम स्थानान्तरणको सुविधा दिएको छ ।
भारतीय तथा नेपाली प्रयोगकर्ताले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गरी नेपालमा रकम पठाउन सक्नेछन् । त्यसैगरी, नेपालमा रहेका भारतीय प्रयोगकर्ताले यूपीआई आईडीमार्फत भारतमा रकम पठाउन सक्नेछन् ।
यसका लागि संवेदनशील बैंक खाता विवरण आदानप्रदान गर्नुपर्ने छैन । यसले दुई देशबीच रेमिट्यान्समा निर्भर परिवार तथा व्यक्तिका लागि रकम पठाउने प्रक्रिया थप सहज, सुरक्षित र किफायती हुने अपेक्षा गरिएको छ ।
एनपीसीआई इन्टरनेसनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भारत–नेपालबीच सुरक्षित र रियल–टाइम भुक्तानी समाधान विस्तारमा कम्पनी केन्द्रित रहेको बताए ।
उनले फोनपे र एनसीएचएलसँगको सहकार्यमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्दै भारतीय यात्रु तथा रेमिट्यान्समा निर्भर परिवारका लागि सहज भुक्तानी सुविधा उपलब्ध गराउने बताए ।
एनआईपीएलले नेपालका नियामक निकाय तथा भुक्तानी प्रणालीसँग सम्बन्धित साझेदारसँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ । कम्पनीले यूपीआईमा आधारित भुक्तानीको प्रयोग बढाउनुका साथै पीटूपी रेमिट्यान्स प्रणालीलाई थप बैंकसम्म विस्तार गर्ने योजना बनाएको छ ।