६१ लाख रुपैयाँ पारिश्रमिक लिएपछि केदार घिमिरेले भने- राज्यलाई तिर्नुपर्ने कर तिर्छु

काठमाडौं । टेलिशृङ्खलामा ‘माग्ने बुढा’को उपनामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले राज्यलाई कर तिर्नु कलाकारको दायित्व भएको बताएका छन् । चलचित्र ‘माग्ने राजा’को पहिलो झलक (फस्टलुक) सार्वजनिक गर्न शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेता घिमिरेले अन्य क्षेत्रका पेसाकर्मीझैँ कलाकारले पनि देशमा समृद्धिका लागि आफ्नो दायित्व पूरा गर्नेबाट पछाडि हट्न नहुने बताए ।  ‘मैले लिएको पारिश्रमिकको चर्चा भइरहँदा मैले आफ्नो दायित्व भुलेको छैन । म आफ्नो पारिश्रमिक बुझेपछि राज्यलाई तिर्नुपर्ने कर तिर्छु, किनकि देश विकासमा हामीले पनि अन्य पेसाकर्मीझैँ तत्परता र सहभागिता देखाउनु आवश्यक छ । हामीले आफ्नो दायित्व नभुलेमात्र सरोकारवाला निकायलाई चलचित्र क्षेत्रलाई समृद्ध बनाउने विषयमा झक्झकाउन सक्छौँ,’ उनले भने ।  चलचित्र ‘माग्ने राजा’मा ६१ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने चर्चा चलेपछि कलाकारको दायित्व र सुविधाका विषयमा अभिनेता घिमिरेले चर्चा गरेका थिए । उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेले कलाकार घिमिरेको लगनशीलता र बजार मूल्य हेरेर पारिश्रमिक दिएको बताए ।  ‘कलाकार घिमिरेले माग राख्नुभयो होला तर हामीले उहाँको लोकप्रियता र बजारको अस्तित्व हरेर लगानी गरेका हौँ । उहाँलाई गरिएको लगानीबाट निर्माताले मुनाफा कमाउनुहुन्छ भने त्यसमा कसैले आपत्ति मान्नुपर्ने ठाउँ छैन,’ निर्देशक लामिछानेले भने । आफूले आफूलाई राजा ठान्ने स्वभाव रहेको एक व्यक्तिको कथालाई चलचित्र ‘माग्ने राजा’मा प्रस्तुत गरिएको उनको भनाइ छ । सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा शिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरीलगायतले अभिनय गरेका छन् । उक्त चलचित्रलाई कलाकार मुनाल घिमिरेले निर्माण गरेका हुन् । चलचित्र ‘माग्ने राजा’ आगामी भदौ ६ गतेदेखि नेपालसहित विदेशमा पनि प्रदर्शन हुनेछ ।

‘महाभोज’ले उठायो सहकारी ठगीको सामाजिक यथार्थ, दर्शकहरू भावुक र आक्रोशित

काठमाडौं । सहकारी ठगीको पीडा र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘महाभोज’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। राजधानीमा सोमबार विशेष प्रदर्शन गरिएको यस फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ।  फिल्मले सहकारी संस्थाहरूमा हुने ठगी र भ्रष्टाचारलाई उजागर गर्दै नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ। हेर्नेहरूले फिल्मले मात्र मनोरञ्जन नभई शिक्षाको पनि काम गरेको बताएका छन्। एक दर्शकले भने, ‘चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु।’  विशेष शोमा सहभागी साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी व्यवस्थाको कमजोरीमाथि प्रश्न उठाएको टिप्पणी गरे। ‘संविधान र कानूनका कारण हामी लोकतान्त्रिक गणतन्त्रमा छौं तर सहकारी पीडितलाई न्याय नपाएको अवस्था फिल्मले देखायो। यो यथार्थले हामीलाई सोच्न बाध्य पार्छ,’ उनले भने। अभिनेता हरिवंश आचार्यले भने, ‘जनताको पैसा कसरी दुरुपयोग हुन्छ भन्ने कुरा फिल्मले अत्यन्त स्पष्ट देखाएको छ। नेताहरूको भ्रष्टाचारलाई पर्दामा ल्याएको छ।’ सरोज खनालले फिल्मको सन्देशलाई गहिरो ठहर गर्दै भने, ‘गोली चलाएर मान्छे मारेको भन्दा मर्न बाध्य बनाउनेलाई ठूलो हत्यारा मान्नु पर्छ। ‘महाभोज’ले यही कुरा उजागर गरेको छ।’ फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका कलाकारहरूले अभिनय गरेका छन्, जसले कथालाई प्रभावकारी बनाएको छ। जितु नेपालले फिल्मको विषयवस्तु मार्मिक र सत्यतामा आधारित रहेको बताए । ‘महाभोज’ले नेपाली समाजका गम्भीर समस्यालाई पर्दामा ल्याएर दर्शकलाई सोच्न प्रेरित गरेको छ र यसले नेपाली सिनेमा क्षेत्रमा नयाँ मिसिल कायम गरेको छ ।

कलाकार गुरुङले गरिन् कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । मोडल तथा कलाकार रिया गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई १० हजार बराबरको स्टेशनरी सामग्री वितरण गरेकी छन् ।  तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। ६ हिलेखर्क केउरानी टोल निवासी गुरुङले कन्यादेवी माध्यमिक विद्यालयका २४ विद्यार्थीलाई १० हजार बराबरको स्टेशनरीको सामग्री वितरण गरेकी हुन् । कलाकार गुरुङले यो सहयोग शिक्षा क्षेत्रको प्रोत्साहन र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउनका लागि गरिएको बताइन् ।  उनले विद्यार्थीहरूको शैक्षिक यात्रा थप सहज र समृद्ध बनाउनेमा विश्वस्त रहेको धारणा व्यक्त गरिन् । स्टेशनरी सामग्री वितरण कार्यक्रममा कन्यादेवी माविका प्रधानाध्यापक सूर्यमान गुरूङले यस अर्थपूर्ण र प्रेरणादायी सहयोगको कदर गर्दै धन्यवाद प्रकट गरे ।