लालीबजारको कमाइ ८ करोड, यी चलचित्र भए फ्लप

काठमाडौं । यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले  गरेको छ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त चलचित्रले ८ करोड रुपैयाँ हाराहारीको कमाइ गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा-२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म चलचित्र ‘लालीबजार’ ले ७ करोड ९० लाख ३१ हजार ४७६ रुपैयाँ कमाई गरेको छ ।

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ को सोही अवधिमा कूल १ लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले चलचित्रसँग जोडिएको सम्पूर्ण सदस्यलाई उत्साहित बनाएको अभिनेता रवीन्द्रसिंह बानियाले बताए ।

उनले भने, ‘हामीले दर्शकबाट पाएको मायाले मेहनतको फल पाएको आभाष भएको छ । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, जसलाई दर्शकले रुचाउनुभयो । यो चलचित्रले शिक्षा नभई जीवन उज्यालो हुन सक्दैन भन्ने सन्देश प्रवाह गर्छ ।’

उनका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । उक्त चलचित्रमा अभिनेता बानियाँसँगै समाइरा थापा, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रशंसा सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ । 

यस्तै, गत वैशाख ११ गते प्रदर्शन भएको चलचित्र ‘परालको आगो’ ले ४ करोड २७ लाख ८४ हजार ४४५ रुपैयाँ कमाई गरेको छ । सुशील पोखरेलले निर्माण गरेको उक्त चलचित्रका लागी कुल १ लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन् । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको उक्त चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् ।

यस्तै, गत २५ वैशाखदेखि नै प्रदर्शनरत नेपाली चलचित्र ‘मालती मङ्गले’ ले ५१ लाख ७३ हजार ७९३ रुपैयाँ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल १६ हजार १८८ टिकट बिक्री भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गरेको उक्त चलचित्रमा वर्षा राउत, विजय बराल, मेक्सम गौडेल लगायत कलाकारले अभिनय गरेका छन् । प्रकु पाण्डेयले निर्देशन गरेकाे उक्त चलचित्रले घरेलु बजारमा राम्रो कमाइ गर्न सकेको छैन । 

गत वैशाख २५ मै प्रदर्शन भएको चलचित्र ‘गुरु आमा’ ले २९ लाख ४२ हजार ५७६ रुपैयाँ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल नौ हजार ३२७ टिकट बिक्री भएका छन् । प्रेम सोनी सुनारले निर्देशन गरेको उक्त चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टीका सानु, सुष्मा थापा, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसी, गिरी बहादुर पुनलगायत कलाकारले अभिनय गरेका छन् ।

यस्तै, गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ ले ५ लाख २१ हजार ८२५ रुपैयाँ कमाई गरेको छ । सहारा शर्माले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल १ हजार ५०५ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेत्री आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक, निशा शर्मा लगायतले अभिनय गरेका छन् । 

गत जेठ १ मै प्रदर्शन भएको चलचित्र ‘लाइफ ड्यामेज’ ले ३३ लाख २६ हजार ३२० रुपैयाँ कमाई गरेको छ । निमेष श्रेष्ठले निर्देशन गरेको उक्त चलचित्रका लागि कुल १० हजार ८५५ टिकट बिक्री भएका छन् । ‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण गरिएको उक्त चलचित्रमा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सन्जना महर्जन, अमोघ अर्याल, अनिश जङ्ग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारले अभिनय गरेका छन् । 

यस्तै, गत जेठ ८ मा प्रदर्शन भएका दुई चलचित्र ‘काजी’ र ‘मित ज्यू’ ले दर्शकको राम्रो साथ पाएको छैन । यी दुई चलचित्रले पहिलो साता सुखद व्यापार गर्न सकेको छैन । अभिनेत्री विपिन कार्की, अभिनेत्री केकी अधिकारी, गरिमा शर्माले अभिनय गरेको चलचित्र ‘काजी’ ले ४० लाख ८८ हजार १७५ रुपैयाँ कमाएको छ । लक्ष्मण रिजालले निर्देशन गरेको उक्त चलचित्रका लागि कुल १३ हजार ७ वटा टिकट बिक्री भएका छन् । रामप्रसाद रिजालले निर्माण गरेको उक्त चलचित्रमा ग्रामीण भेगको प्रेमकथा देखाइएको थियो ।

गत जेठ ८ मै प्रदर्शन भएको चलचित्र ‘मितज्यू’ ले सोही अवधिमा १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ कमाई गरेको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कुल ४१ हजार २४८ टिकट बिक्री भएका छन् ।  जनक घर्तीमगरले निर्माण गरेको उक्त चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, टेरिया फौजा मगरलगायत कलाकारले अभिनय गरेका छन् ।

बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा रहेको सार्वजनिक तथ्याङ्कअनुसार यस वर्ष जेठ मध्यसम्म प्रदर्शन भएका चलचित्रमा घरेलु बजारमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र ‘लालीबजार’ देखिएको छ । चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको छ । 

Share News