सर्लाही- ४ मा रास्वपाका अमरेशकुमार सिंहको अग्रता
काठमाडौं । सर्लाही- ४ मा अमेरशकुमार सिंहले सुरुवाती अग्रता कायम गरेका छन् । उनले १ हजार ९०८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गगन थापाले ५३६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपाका रजनिस रायले ३७९ मत प्राप्त गरेका छन् ।
ललितपुर २ मा रास्वपाको फराकिलो अग्रता
ललितपुर । पछिल्लो मत परिणामअनुसार ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फराकिलो मतले अगाडि देखिएको छ । रास्वपाका उम्मेदवार जगदिश खरेलले नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले भन्दा ६ गुणा बढी मत ल्याएका छन् । खरेलले ३ हजार १९९ मत ल्याउँदा महर्जनले ४९३ मत प्राप्त गरेका हुन् । त्यस्तै, नेकपा एमालेका प्रेम बहादुर महर्जनले ४०७ मत पाएका छन् ।
सुनसरी-१ मा अझै मतगणना हुन सकेन
काठमाडौं । सुनसरी-१ मा अझै मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठक सम्पन्न बसेर भर्खरै सकिएकाले केही समयमा मतगणना सुरु हुने निर्वाचन अधिकृत दीव्यराज घिमिरेले बताए । उनका अनुसार बैठक सम्पन्न भएकाले प्रतिनिधिको नाम आउन बाँकी छ । ‘मतगणनास्थलमा बस्ने प्रतिनिधिको नाम आएपछि मतगणना सुरु हुन्छ,’ उनले भने,’ १२ बजेदेखि मतगणना सुरु हुन सक्छ ।‘ सुनसरी १ मा कुल मतदाता सङ्ख्या १५०३९३ रहेकोमा कुल ८७८६५ मतदान भएको छ । निर्वाचन कार्यालय अनुसार सुनसरी जिल्लाको ४ निर्वाचन क्षेत्रमा खसेको कुल मतको आधारमा जिल्लामा ६४ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालयद्वारा जारी तथ्याङ्क अनुसार प्रतिशतको हिसाबले निर्वाचन क्षेत्र २ मा ६४ प्रतिशत मतदान भएको छ । त्यहाँ कुल मतदाता १५८९१० रहेकोमा १०१००४ मतदान भएको छ । सुनसरी क्षेत्र ३ मा सबै भन्दा बढी कुल ७१ प्रतिशत मतदान भएको छ । त्यहाँ कुल मतदाता १३४३०२ रहेकोमा कुल ९५१८५ मतदान भएको छ । सुनसरी ४ मा ६२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ कुल मतदाता सङ्ख्या १३७३४० रहेकोमा कुल ८५५४६ मतदान भएको जनाइएको छ ।