बारा–३ र ४ मा रास्वपा विजयी
बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित भएका हुन् । बारा–३ मा साहले ४० हजार ६७७ र बारा–४ मा अन्सारीले ४१ हजार २०० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गरेका छन् ।
नुवाकोट–२ मा रास्वपाका अच्युत लामिछाने विजयी
काठमाडौं। नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अच्युत लामिछाने निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३२ हजार ५४ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे । त्यस्तै, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएर तेस्रो स्थानमा रहे भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।
झापा ५ मा बालेनको जित सुनिश्चित
काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहको विजय सुनिश्चित भएको छ । बालेनले ४७ हजार ७७९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १२ हजार ६९९ मत प्राप्त गरे। ओलीभन्दा बालेन ३५ हजार ८० मतले अगाडि छन् । हालसम्म ७५ हजार ३७७ मत गणना भइसकेको छ । उक्त क्षेत्रमा कुल १ लख ६ हजार ३७२ मत खसेको थियो । अब भने सो क्षेत्रमा ३० हजार ९९५ मत गणना गर्न बाँकी रहेको छ ।