सात महिनामा काठमाडौंका विभिन्न ठाउँबाट ४ हजार बढी पक्राउ
काठमाडौं । सात महिनामा काठमाडौंका विभिन्न स्थानमा ४ हजार २७९ जना पक्राउ परेका छन् । शुक्रबार काठमाडौं प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पवनकुमार भट्टराईले काठमाडौंका विभिन्न ठाउँमा गरेर ४ हजार २७९ जना पक्राउ परेको जानकारी दिए । उनका अनुसार काठमाडौंका विभिन्न प्रहरी वृत्तमा ५ हजार ५६६ वटा मुद्दा भएको थियो । सबैभन्दा बढी १ हजार ९९९ मुद्दा जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएको भट्टराईले जानकारी दिए । महाराजगञ्जमा प्रहरी वृत्तमा ५ सय ६२ मुद्दा दर्ता, बौद्धमा ४ सय ४६, बालाजुमा ३ सय ८९, नयाँ बानेश्वरमा ३ सय ३३, गौशालाममा ३ सय ९ र कालीमाटीमा २८९ मुद्दा दर्ता भएका थिए । प्रहरी परिसरका अनुसार बैंकिङ कसुरमा २ हजार १९४, अभद्र व्यवहारमा ७ सय ७३, चोरीमा ५७१, लागुऔषध ३३८, ठगी २६८, आपराधिक उपद्रव १७३, आत्महत्या १ सय ६४, जबरजस्ती करणी १ सय १९, ज्यान मार्ने उद्योग १ सय र सवारी ज्यानमा ६८ मुद्दा दर्ता भएको थियो ।
महिला हिंसासँगै पुरुष पीडितका घटना पनि धेरै
काठमाडौं । काठमाडौंमा १ सय ११ जना पुरुष महिलाका कारण पीडित भएका छन् । शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिसरमा भएको पत्रकार सम्मेलनमा एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले विभिन्न घटनामा परेर महिलाद्वारा १ सय ११ जना पुरुष पीडित भएको उजुरी परेको जानकारी दिए । ठाडो निवेदन दिएर १३ जना पुरुष र २९१ जना महिला पीडित भएको उजुरी परेको उनले बताए । भट्टराईले घरेलु हिंसामा ९८ जना पुरुष र ६२१ जना महिला परेको जानकारी दिए । लैंगिक हिंसा नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाएको बताउँदै उनले मनोसामाजिक परामर्श ९२० जनालाई प्रदान गरिएको जानकारी दिए । महिला, बालबालिका तथा पुरुषलाई विभिन्न १ सय ७९ र मानसिक रुपमा विक्षिप्त भएका विभिन्न २ सय २ जनालाई उपचार गर्न अस्पतालसमेत पठाइएको उनले बताए । त्यसैगरी, जेनजी प्रदर्शन हुँदा प्रहरी कार्यालयबाट लुटिएको १८१ थान हतियार प्रहरी काठमाडौंबाट बरामद गरेको छ । हतियार लुटमा संलग्न ५१ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको छ । भदौ २४ मा कारागारबाट भागेका १६२ जना कैदी र ९० जना थुनुवालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई सम्बन्धित कारागारमा पठाइएको एसपी भट्टराईले जानकारी दिए ।
जेनजी आन्दोलनमा मृत्यु भएका ४२ जना आफन्तले दिए जाहेरी, ७ शवको डीएन परीक्षण जारी
काठमाडौं । गत वर्षको भदौमा जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७ जनाको अझै पहिचान नखुलेको पाइएको छ । शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पवनकुमार भट्टराईले सात जनाको मृत्यु भएको हालसम्म पहिचान खुल्न नसकेको बताए । ‘सात जनाको शव पहिचान हुन नसक्दा डीएनए परीक्षण भइरहेको छ,’ उनले भने । आन्दोलनमा ४९ जनाको मृत्यु भएको उनले जानकारी दिए । ४२ वटा शवको पहिचान भएर सनाखत भइ जाहेरी दरखास्त परेको उनले बताए । ४२ वटा शवको ज्यानसम्बन्धी मुद्दा दर्ता भएको उनले जानकारी दिए । २३ गतेको घटनाको सम्बन्धमा विभिन्न समयमा ९ वटा जाहेरी परेको प्रवक्ता भट्टराईले बताए । असोज २७ गतेको निर्णय अनुसार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको केही जाहेरीहरू तामेलीमा राखिएको उनले उल्लेख गरे । तामेलीमा रहेका जाहेरीमध्ये एउटा जाहेरीलाई जिल्ल सरकारी वकिल कार्यालय काठमाडौंको निर्णय अनुसार तामेली जगाइ अनुसन्धान गरिएको छ,’ प्रवक्ता भट्टराईले भने, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ अनुसन्धान गरिएको छ ।’ अदालतको आदेशबाट पूर्वप्रधानमन्त्री ओली र लेखक रिहा भए पनि अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए । शवको मुचुल्का तथा परीक्षण लगायत सम्बन्धित कागजातको अध्ययन भइरहेको उनले उल्लेख गरे । सीसीटीभी फुटेज संकलन, विश्लेषण, प्रत्यक्षदर्शी र घटना देख्ने एवं थाहा पाउने व्यक्तिको कागज समेतका अनुसन्धान भइरहेको उनको भनाइ छ ।