गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले गगनकुमार थापा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको भन्दै आदेश जारी गरेको हो । गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसको नयाँ कार्यसमितिको वैधानिकता सम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको हो । उक्त विशेष महाधिवेशनले १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनबाट बनेको उक्त कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेपछि देउवा पक्ष अदालत गएको थियाे। निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको पक्ष सर्वोच्च अदालत पुगेको थियो ।
शुक्रबार पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने
काठमाडौं । शुक्रबार ( आज) पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला शुक्रबार पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अझै केही दिन कोशीलगायत केही क्षेत्रमा मौसम बदली भइरहने र तराईका क्षेत्रमा तातो बढ्ने जानकारी दिए । उनले मौसम छिनछिनमै परिवर्तन भइरहने भएकाले आधिकारिक सूचनाबारे जानकारी राख्न अनुरोध पनि गरे । उनले भने, ‘मधेस प्रदेशलगायत तराई क्षेत्रमा तापक्रम बढ्ने छ, तर कोशीलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने बदली रहने छ ।’ उनका अनुसार शुक्रबार पछिल्लो तीन घण्टामा चितवनमा २२.६, तनहुँमा २५.८, कास्कीमा १४, लमजुङमा ८.८, नवलपरासीपूर्वमा २० मिलीमिटर वर्षा भएको छ । शुक्रबारखोटाङमा पनि दिउँसो २५ मिलीमिटर वर्षा भएको थियो । शनिबार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यता मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
एमालेद्वारा आन्दोलनका कार्यक्रम स्थगित, वैशाख ९ मा पार्टी स्थापना दिवस मनाउने
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको शुक्रबार (आज) को बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ । सो पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा भएकोे बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो । बैठकले सबै जिल्ला कमिटीहरूले यही वैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार उपत्यकाको हकमा वैशाख ९ गते दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरिनेछ । बैठकले पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको सन्दर्भमा यही वैशाख ७ र १२ गते गर्नेगरी तय भएका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशमा गत चैत २६ गते हाजिरी जमानीमा रिहा भएपछि एमालेले आन्दोलनका कार्यक्रम स्थगन गरेको हो ।