दुम्कीवासस्थित विनयी खोलाको पुल निर्माण सम्पन्न, आजदेखि सवारी आवागमन सुरु
काठमाडौं । नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल सञ्चालनमा आएको छ । निर्माण कार्य सम्पन्न भएसँगै आजदेखि पुलमार्फत सवारी आवागमन सुरु गरिएको बुटवल-नारायणगढ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शिव खनालले बताए । विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीवासमा रहेको करिब २४५ मिटर लम्बाइको विनयी खोला पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको उनले बताए । यसअघि सोही स्थानमा रहेको फलामे पुल करिब दुई वर्षअघि भत्किएपछि अस्थायी डाइभर्सन सडकमार्फत यातायात सञ्चालन हुँदै आएको थियो । वर्षायाममा बाढीका कारण डाइभर्सन प्रयोग गर्दा पटकपटक आवागमन अवरुद्ध हुने समस्या देखिँदै आएको थियो । योसँगै नारायणगढ-बुटवल सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका सबै पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भएको इञ्जिनियर खनालले बताए । ‘आयोजनाअन्तर्गत पूर्वी खण्डमा १२ ठूला र २२ साना पुल निर्माण सम्पन्न भएका छन्’, उनले भने, ‘पूर्वी खण्डमा निर्माण गर्नुपर्ने २११ कल्भर्टसमेत पूर्ण रूपमा सम्पन्न भइसकेका छन् ।’ बुटवल-नारायण सडक खण्डको गैँडाकोटदेखि दुम्कीबाससम्मको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको पूर्वी खण्डअन्तर्गत दाउन्ने खण्डको मात्र काम बाँकी रहेको छ भने अन्य क्षेत्रको काम अन्तिम चरणमा पुगेको इञ्जिनियर खनालले जानकारी दिए । उनका अनुसार पूर्वी खण्डमा अहिलेसम्म ८१ प्रतिशत भौतिक प्रगति भएको छ ।
युद्धविरामको अवधिमा ‘स्ट्रे अफ हर्मुज’ पूर्ण रूपमा खुला रहने
काठमाडौं । युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुज पूर्णरूपमा खुला रहने भएको छ। इरानको विदेश मन्त्रालयले युद्धविरामको अवधिभर पूर्ण रुपमा होर्मुज सञ्चालन हुने घोषणा गरेको हो । इरानले युद्धविरामको अधवधिर होर्मुजमा कुनै अवरोध नहुने प्रष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी छ । युद्धविराम अप्रिल ८ देखि औपचारिक रूपमा सुरु भएको हो। पाकिस्तानको सक्रिय मध्यस्थतामा सम्भव भएको यो युद्धविरामको मुख्य उद्देश्य दुई देशबीच बढ्दो सैन्य तनावलाई कम गरी वार्ताको वातावरण सिर्जना गर्नु थियो । तर, अप्रिलको दोस्रो साता इस्लामावादमा भएको उच्चस्तरीय शान्ति वार्तामा कुनै ठोस सहमति जुट्न सकेन । इरानले आफ्नो परमाणु नीति र रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मुज’ माथिको आफ्नो अडान नछोडेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो । दुई मुलुकबीच दोस्रो तहमा वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । यही सप्ताहान्तभित्र परिणामुखी वार्ता हुने अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दावी गरेका छन् ।
‘नागरिक हिँड्ने फुटपाथमा प्रहरीको सवारीसाधन पार्किङ नगर्नू’
काठमाडौं । नेपाल प्रहरीले आफ्नो मातहतका प्रहरीलाई फुटपाथमा सवारीसाधन पार्किङ नगर्न निर्देशन दिएको छ । प्रहरीले सवारीसाधन पार्किङ गर्दा सर्वसाधारणको आवागमनमा अवरोध हुने प्रहरीले उल्लेख गरेको छ । ‘कानुन कार्यान्वयन गर्ने निकायका सदस्यहरूको सडक अनुशासन विपरीतका कार्यले सर्वसाधारण नागरिकको आवागमनमा बाधा पुग्नुका साथै प्रचलित नियम कानुनको समेत उल्लङ्घन हुने गर्दछ,’ प्रहरीले भनेको छ, ‘कानुनको पालना गर्ने र गराउने गहन जिम्मेवारी बोकेको संस्थाका सदस्यहरूले सवारी साधन प्रयोगमा उच्च अनुशासन कायम गर्नु आवश्यक छ ।’ प्रहरी एकाइ तथा प्रहरी कर्मचारीहरूलाई सरकारी प्रयोजनको होस् वा आफ्नो निजी होस्, सवारीसाधन चलाउँदा र सवारीसाधन पार्किङ गर्दा ट्राफिक नियमहरूको पूर्ण रुपमा पालना गर्न प्रहरीले अनुरोध गरेको छ । सामाजिक सञ्जालमा नेपाल प्रहरीको सवारी साधन फुटपाथमा पार्क गरिएको तस्बिर सम्प्रेषण भएको सम्बन्धमा नेपाल प्रहरीले आपत्ति जनाएको छ ।