आजदेखि हरेक शनिबार सवारीसाधन मुक्त असन

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुने जानकारी दिइन् । अब हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ । आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि कामपाले निरन्तर काम गरिरहेको छ । यसरी गरिने कामले काठमाडौंको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने अपेक्षा गरिएको छ । मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौंका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरूपमा निरन्तरता दिन कठिन हुन थालेको र काठमाडौँको पहिचानमा नकारात्मक प्रभाव पारेकाले कामपाले उक्त कार्यक्रम सञ्चालन गरेको कामपाको प्रवक्ता नवीन मानन्धरले बताए ।  शनिबार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्द्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापको प्रदर्शन र प्रवर्द्धनात्मक क्रियाकलाप सञ्चालन गरिने प्रवक्ता मानन्धरले जानकारी दिए ।   कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइने छैन । यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइने छैन । वीर अस्पतालबाट महाबौद्ध स्तुपातर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ प्रवेश पाइने छैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्र वहाल, मांस गल्लीबाट मोटरसाइकलसमेत प्रवेश रोकिनेछ । गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइने छैन । कान्तिपथतर्फ ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ । यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । शनिबारका दिन असन आउने आगन्तुकहरुले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुल तथा अन्य तोकिएका स्थानमा सवारीसाधन राखेर पैदलयात्राबाट असन प्रवेश गर्नुपर्ने जनाइएको छ । 

कसैको हार वा जित होइन, एकताबद्ध भएर १५औं महाधिवेशन सम्पन्न गर्छौं : महामन्त्रीद्वय

काठमाडौं । सर्वोच्च अदालतले  नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि विवादमा दिएको निर्णयलाई महामन्त्री गुरुराज घिमिरेले न्यायपूर्ण भएको टिप्पणी गरेका छन् । कांग्रेसका सदस्यले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल भएको उनको भनाइ छ ।  ‘यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ । यो कसैको हार वा जित होइन । अब हामी नेपाली कांग्रेसका सबै साथी एकताबद्ध भई पार्टीको १५औं महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ,’ उनले भने ।  विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्ने उनले बताए ।  महामन्त्री प्रदीप पौडेलले कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताए । उनले भने, ‘यस फैसला कसैका लागि पनि हार वा जितको विषय हुनुहुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।’

आँखा स्वास्थ्य सेवामा ‘डिजिटल’ युगको सुरुवात

काठमाडौं । नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मानक स्थापित गर्ने ध्येयले विराटनगर आँखा अस्पतालमा अत्याधुनिक ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन ल्याइएको छ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित सो अस्पतालमा अर्बिस इन्टरनेशनलसँगको सहकार्यमा लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणाली (लिक्स) अन्तर्गत पहिलो पटक ‘डिजिटल ट्रेनिङ हब’ थालनी गरिएको हो । नेपालमै पहिलो पटक स्थापना गरिएको सो ‘हब’ले विशेष गरेर आँखा स्वास्थ्य सेवामा परम्परागत शिक्षण पद्धतिबाट प्रविधिमा आधारित आधुनिक चिकित्सा तालिमतर्फ ऐतिहासिक फड्को मार्ने अपेक्षा गरिएको छ । अत्याधुनिक ‘सर्जिकल सिमुलेटर’, ‘वेट ल्याब’, ‘भर्चुअल लर्निङ सिस्टम’ तथा ‘साइबर साइट’ मार्फत उपलब्ध विश्वव्यापी टेलि-मेन्टोरिङ सुविधासहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अझ सुरक्षित, भरपर्दो र आत्मविश्वासका साथ सो तालिम केन्द्रबाट सीप विकास गर्न सक्ने जनाइएको छ । लिक्स परियोजनाअन्तर्गत सञ्चालन हुने तालिममा नेपालभरिका आँखा अस्पताल, मेडिकल कलेज, निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिका साथै अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाका पेशाकर्मीहरूकाे समेत सहभागिता रहनेछ । तालिमहरू विश्वस्तरका अनुभवी विशेषज्ञहरूद्वारा सहजीकरण गरिने नेपाल नेत्र ज्योति संघले जनाएको छ ।  यस केन्द्रले स्वास्थ्य सेवा सुदृढीकरणसँगै अन्तर्राष्ट्रिय प्रशिक्षार्थी आकर्षित गरी चिकित्सा शिक्षा पर्यटन प्रवर्द्धन गर्ने तथा महँगो विदेश तालिममा निर्भरता घटाउने अपेक्षा गरिएको छ । साथै यससँगै विराटनगर आँखा अस्पताल एक अग्रणी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तालिम केन्द्रका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।  लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणालीका (लिक्स) प्रमुख प्रशासक सुधीर ठाकुरका अनुसार लिक्स अन्तर्गत सञ्चालित यस सञ्जालले दुई अस्पताल तथा ४० भन्दा बढी आँखा उपचार केन्द्रमार्फत शहरदेखि दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्दै आएको छ । सन् २०२५ मा मात्र १४ लाखभन्दा बढी आँखा सेवा प्रदान गरिएको छ, यसमा १ लाख ३२ हजारभन्दा बढी दृष्टि पुनःस्थापना शल्यक्रिया तथा ७ लाख ६४ हजारभन्दा बढी सामुदायिक सेवा समावेश छन् । स्थापना कालदेखि हालसम्म १ करोड ६६ लाखभन्दा बढी सेवा र झण्डै २५ लाख शल्यक्रिया भइसकेका छन् । नेपालको आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको सो ‘हब’को कोशी प्रदेशका स्वास्थ्य  मानबहादुर लिम्बू तथा अर्बिस इन्टरनेशनलकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत क्याथलिन ए. शेरविनले हालै संयुक्त रूपमा शुभारम्भ गरे ।  सो अवसरमा नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरी तथा अर्बिस इन्टरनेशनल भारतका  देशीय निर्देशक डा ऋषिराज बोहरा लगायतको उपस्थिति थियो । ‘डिजिटल ट्रेनिङ हब’ले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन, गुणस्तर र पहुँच विस्तारमा नयाँ मापदण्ड स्थापित गर्दै रोकथामयोग्य अन्धोपन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।