ईपीएस कोरिया शाखाले ७६ करोड रुपैयाँ बैंकमा लगानी गर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग (ईपीएस कोरिया शाखा)ले आफ्नो कोषमा रहेको ७६ करोड रुपैयाँ एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त वाणिज्य बैंकहरूलाई आफूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर खुलाएर शिलबन्दी प्रस्ताव पेश गर्न विभागले आग्रह गरेको हो । वैशाख १५ गतेसम्म बोलपत्र प्रस्ताव पेश गर्नुपर्नेछ । प्रस्ताव पेश गर्ने बैंकहरूले निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जाको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको लगायतका सर्त तोकिएको छ । त्यस्तै, बैंकले हालसम्म समस्याग्रस्त घोषणा नभएको वा भएमा कम्तीमा ६ महिना अघि फुकुवा भएको हुनुपर्ने, सञ्चालन मुनाफामा रहेको तथा राष्ट्र बैंकको मापदण्डभित्र रहेर सञ्चालन भएको हुनुपर्ने सर्त पनि राखिएको छ । एकभन्दा बढी बैंकबाट प्रस्ताव प्राप्त भएमा सबैभन्दा उच्च ब्याजदर प्रस्ताव गर्ने बैंकलाई प्राथमिकताका आधारमा छनोट गरिने विभागले जनाएको छ । 

६४ करोडको ठेक्कामा ४.२२ करोड घुस, अधिकारीको बैंक खातामा रकम जम्मा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माण सेवाका सञ्चालक तथा सम्बद्ध संयुक्त उपक्रमहरूको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ । आयोगका अनुसार, त्यसरी प्राप्त भएको घुस रकमबाट संयुक्त रुपमा सम्पत्ति खरिद गरेको पाइएको छ । निर्माण सेवा प्रालिले एकल वा संयुक्त उपक्रममा समावेश भई विभागले गरेको ठेक्का सम्झौता मध्ये कुल ६४ करोड २१ लाख ८९ हजार रुपैयाँ बराबरको ठेक्कामा ४ करोड २२ लाख ७५ हजार, ९८५ रुपैयाँ बराबरको रकम घुस लिएको आयोगको आरोप छ । भ्रष्टाचार गरेर आर्जन गरेको रकमबाट आपसी मिलेमतो र योजनामा जग्गा एवं सुन खरिद गरेको तथा विभिन्न व्यक्तिलाई भुक्तानी समेत गरेको पाइएको आयोगले जनाएको छ । गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने रुपान्तरण तथा हस्तान्तरण  गर्ने गराउने कार्य गैरकानुनी कार्य भएको ठहर गरिएको छ । पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठ र सहायक पथ प्रदर्शक अधिकारी विरुद्ध समान ४ करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । 

पहाडी भू-भागमा आंशिक बादल, तराईमा तातो लहर

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा देशका हिमाली भू-भागमा सहित कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बादल  लाग्ने र बाँकी भू-भागमा मौसम  सफा रहनेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।