काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले संविधानको अक्षर र भावनाप्रति वर्तमान सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा शनिबार टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले संविधानले विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य तथा विकास, समृद्धि र सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माणको वाचा गरेको बताए ।
उनले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्यलाई राष्ट्रिय जीवनको आधारका रूपमा संविधानले स्थापित गरेको बताए । संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर क्रियाशील नभए संविधान कागजमा मात्र सीमित हुने उनको भनाइ छ।
प्रधानमन्त्री साहले भने, ‘यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ । विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य यी हाम्रा लागि सर्तहरू होइनन्, यी हाम्रा राष्ट्रिय जीवनका आधार हुन् । यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ ।’
उनले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अब अझ बलिया र धेरै रहेको बताए । विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको भन्दै उनले सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्तिको प्रक्रिया अवलम्बन गरेको बताए ।
‘सुशासन नारा होइन, काम हो र हामी काम गरिरहेका छौँ,’ प्रधानमन्त्री साहले भने । संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । सरकारले पुरानै बाटो नअपनाउने पनि उनको भनाइ छ ।
प्रधानमन्त्री साहले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगसँगै अघि बढाउँदै नवप्रवर्तन र नयाँ व्यवसायलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण भइरहेको बताए । डिजिटल सुशासनको प्रारूपअनुसार राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण त्यसको आधार रहेको उनले बताए ।
युवाले सडकमा मागेको सुशासन प्रविधिमार्फत पनि सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै उनले विपद् व्यवस्थापनलाई पनि सरकारको प्राथमिकतामा राखिएको बताए ।
रसुवा र भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री साहले उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघ–संस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी तथा नागरिकप्रति आभार व्यक्त गरे ।
नेपाल उच्च विपद् जोखिममा रहेका मुलुकमध्ये रहेको भन्दै उनले विपद् आइसकेपछि मात्र नभई आउनुअघि नै जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिने बताए । विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने उनको भनाइ थियो ।
प्रधानमन्त्री साहले संविधान जारी भएको दिन हरेक वर्ष आउने भए पनि संविधान पूर्णरूपमा कार्यान्वयन हुने दिन आफैंले ल्याउनुपर्ने बताए । इमानदार निर्णय, पारदर्शी नियुक्ति र प्रभावकारी सेवामार्फत नागरिकको घरदैलोमा पुग्न सकिने उनको विश्वास छ ।
‘जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन् । यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ,’ उनले भने।
उनले संविधानप्रतिको निष्ठा र यसको पालनामा सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै भने, ‘शहीदहरूको रगतले लेखेको संविधान हामी कामले पूरा गर्नेछौँ ।’