१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

काठमाडौं । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तुहरू अन्ततः रोमानिया फर्किएका छन् । लामो अनुसन्धान, कूटनीतिक प्रयास र कानूनी प्रक्रियापछि फिर्ता भएको यो खजाना रोमानियाका लागि केवल पुरातात्विक वस्तु मात्र नभई राष्ट्रिय पहिचान र ऐतिहासिक स्मृतिको प्रतीकका रूपमा हेरिएको छ ।      डेसिया सभ्यतासँग सम्बन्धित अलङ्कृत कोटोफेनेस्टी हेलमेट र तीन सुनौलो ब्रेसलेटहरू जनवरी २०२५ मा नेदरल्यान्ड्सस्थित ड्रेन्ट्स सङ्ग्रहालयमा भएको योजनाबद्ध छापामार चोरीमा हराएका थिए । उक्त घटनाले अन्तर्राष्ट्रिय कला क्षेत्रमा ठूलो तरङ्ग ल्याएको थियो भने रोमानियाली अधिकारीहरू गम्भीर चिन्तामा परेका थिए । करिब १४ महिनाको अनुसन्धानपछि, तीन जना संदिग्धसँग सम्बन्धित मुद्दा अघि बढिरहँदा अधिकांश हराएका वस्तुहरू मङ्गलबार बुखारेस्टस्थित हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका छन् । त्यहाँबाट कडा सुरक्षा व्यवस्थासहित ती वस्तुहरू राष्ट्रिय इतिहास सङ्ग्रहालयमा पुर्‍याइएको थियो । अहिले ती वस्तुहरू मास्क लगाएका सशस्त्र सुरक्षाकर्मीको निगरानीमा काँचको विशेष क्याबिनेटमा राखेर सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिएको छ ।      सङ्ग्रहालयका अन्तरिम निर्देशक कर्नेल कन्स्टान्टिन इलीले यी वस्तुहरूलाई सामान्य पुरातात्विक सामग्री नभई ‘ऐतिहासिक स्मृतिका जीवित अवशेष’ का रूपमा फर्काइएको बताए । उनका अनुसार, यो क्षण रोमानियाका लागि खुशीसँगै आत्ममूल्याङ्कन गर्ने अवसर पनि हो । लामो समयसम्म यी सम्पदा सधैँका लागि हराउन सक्ने चिन्ताबीच बिताएको स्मरण गर्दै उनले अब यसको महत्त्वपूर्ण अंश फिर्ता आएकोमा राहत महसुस गरिएको उल्लेख गरे ।      ड्रेन्ट्स सङ्ग्रहालयका निर्देशक रोबर्ट भ्यान ल्याङले पनि यस घटनालाई सबैका लागि भावनात्मक क्षण भएको बताए । उनका अनुसार, नेदरल्यान्ड्समा यसको प्रभाव उल्लेखनीय भए पनि रोमानियामा यसको भावनात्मक असर अझ गहिरो थियो । दुवै देशका प्रहरी र न्यायिक निकायले समन्वयमा उत्कृष्ट काम गरेको उनले स्वीकार गरे ।      यसै महिनाको सुरुआतमा डच अभियोजकहरूले पूर्वी नेदरल्यान्ड्सको एसेन सहरमा पत्रकार सम्मेलनमार्फत बरामद गरिएका वस्तु सार्वजनिक गरेका थिए । यद्यपि, चोरी भएका तीनमध्ये एक सुनौलो ब्रेसलेट अझै फेला परेको छैन र त्यसको खोजी जारी रहेको जनाइएको छ । आगामी हप्ताहरूमा यससम्बन्धी न्यायिक निर्णय आउने अपेक्षा गरिएको छ ।      चोरीपछि हराएको हेलमेट फिर्ता हुँदा केही भागमा क्षति देखिएको छ भने अन्य बरामद ब्रेसलेटहरू भने सुरक्षित अवस्थामा रहेका छन् । हेलमेट पगालिएको हुन सक्ने आशङ्का पनि गरिएको थियो, किनभने यसको विशिष्टता र पहिचानका कारण यसलाई अवैध बजारमा बेच्न कठिन हुने अनुमान गरिएको थियो ।      रोमानियाका संस्कृतिमन्त्री डिमेटर अन्द्रास इस्तवानले यस घटनाले सम्पदा र राष्ट्रिय चेतनाबीचको गहिरो सम्बन्ध उजागर गरेको बताए । उनका अनुसार, यसले सांस्कृतिक सम्पदाहरू कति संवेदनशील र जोखिममा पर्न सक्ने देखाएको छ, जहाँ हिंसा, तस्करी र लापरबाहीले ठूला क्षति पुर्‍याउन सक्छ ।      चोरीको घटनापछि सार्वजनिक भएको सुरक्षा फुटेजमा तीन व्यक्तिले क्रोबार प्रयोग गरी सङ्ग्रहालयको ढोका फुटाएको र त्यसपछि विस्फोट गराएको दृश्य देखिएको थियो । यसले घटना योजनाबद्ध र सङ्गठित रहेको सङ्केत गरेको थियो ।      सङ्ग्रहालय प्रशासनका अनुसार, केही मर्मतसम्भार अघि यी सम्पदाहरूलाई सर्वसाधारणका लागि प्रदर्शन गरिनेछ । यसलाई केवल कलात्मक वस्तुका रूपमा मात्र नभई कठिन परीक्षा, लगभग अपूरणीय क्षति र त्यसपछिको सफल पुनःप्राप्तिको प्रतीकका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ । अन्ततः, यी बहुमूल्य सम्पदाहरू स्वदेश फर्किनु रोमानियाका लागि ऐतिहासिक उपलब्धिका रूपमा स्थापित भएको छ । रासस   

गगन थापालाई सभापति स्वीकार गर्दै पूर्णबहादुर खड्काले जारी गरे प्रेस विज्ञप्ती

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले विशेष महाधिवेशनवाट निर्वाचित सभापति गगनकुमार थापालाई पहिलोपटक पार्टी सभापति स्वीकार गरेका छन् । मंगबार प्रेस विज्ञप्ति जारी गर्दै खड्काले आफूलाई पूर्वकार्यवाहक सभापतिको रुपमा प्रस्तुत गरेका छन् । उनले सरकारले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन स्ववियु खारेज गर्ने सरकारी निर्णयप्रति कडा आपत्ति जनाएका छन् । उनले उक्त कदमलाई लोकतन्त्रविरोधी र अधिनायकवादी भएको टिप्पणी गरेका छन् । वक्तव्यमा खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनमा विद्यार्थी संगठनहरूको ऐतिहासिक भूमिका स्मरण गर्दै त्यस्ता संस्थामाथि प्रहार गर्नु संविधानले प्रत्याभूत गरेको मौलिक हकविपरीत भएको बताएका छन् ।  उनले पञ्चायती व्यवस्थादेखि २०६२/६३ को जनआन्दोलनसम्म विद्यार्थीहरूले लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन् । गत वर्षको भदौ २२ र २३ को आन्दोलनपछि कांग्रेसमा विवाद चर्कँदै जाँदा पार्टीभित्र एक समूहले अर्को समूहलाई कारवाहीसमेत गरेका थिए । तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेपछि तत्कालीन कार्यवाहक सभापति खड्काले महामन्त्रीहरुलाई कारवाही समेत गरेका थिए । कार्यवाहक सभापति खड्काको सभापतित्वमा बसेको केन्द्रीय समिति बैठकले गत वर्ष पुष ३० गते थापा, शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निस्कासन गरेको थियो । त्यसपछि खड्काले कार्यवाहक सभापतिको रूपमा चैत्र ३० गते प्रेस विज्ञप्ति जारी गरेपछि कांग्रेसको अनुशासन समितिले वैशाख २ गते स्पष्टिकरण सोधेको थियो । तर वैशाख ४ गते कांग्रेसको आधिकारिकता विवादसम्बन्धी आदेश सर्वोच्च अदालतले जारी गरेपछि कांग्रेसभित्र नयाँ अवस्था सिर्जना भएको थियो । यही मेसोमा खड्काले थापालाई सभापति स्वीकार गरेको राजनीतिक विश्लेषक परशुराम घिमिरेले बताए । उनले भने, ‘यसले कांग्रेसभित्र नयाँ सञ्चार सुरु गरेको छ ।’  अर्का विश्लेषक तथा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले पनि अदालतले न्याय निरूपण गरेर अगाडि बढ्न बाटो खोलिदिएको अवस्थामा आएको खड्काको वक्तव्य पार्टीका लागि कोशढुंगा भएको बताए । जारी गरिएको खड्काको विज्ञप्तिको मास्टहेडमै खड्काले आफुलाई निवर्तमान कार्यवाहाक सभापति लेखेका छन् ।

विद्युतीय सवारीले बढी भाडा लिए कारबाही हुने, डिजेल गाडीको हकमा मात्र भाडा वृद्धि लागू

काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनले यात्रुसँग बढी भाडा लिएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । विभागले (हिजो) मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै हालै गरिएको भाडा वृद्धि केवल डिजेल इन्जिनबाट चल्ने सवारी साधनका लागि मात्र भएको स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएपछि स्वचालित प्रणाली अनुसार चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक यातायातको भाडा समायोजन गरिएको भए पनि यो नियम विद्युतीय सवारीको हकमा लागू नहुने विभागको जिकिर छ । पछिल्लो समय विद्युतीय सवारी साधनहरूले पनि बढेको भाडा असुल्ने गरेको र यात्रुलाई अनिवार्य दिनुपर्ने टिकट समेत नदिएको गुनासो बढेपछि विभागले यस्तो कदम चालेको हो । विभागका अनुसार विद्युतीय सवारी साधनका लागि साविककै भाडादर कायम रहनेछ । यातायात सेवा प्रदायकले यात्रुबाट भाडा लिएपछि अनिवार्य रूपमा टिकट दिनुपर्ने कानुनी प्रावधानलाई कडाइका साथ पालना गर्न समेत निर्देशन दिइएको छ । विभागले सूचनामार्फत सचेत गराउँदै भनेको छ, ‘यदि कुनै विद्युतीय सवारीले तोकिएको भन्दा बढी भाडा लिएको वा नियम उल्लंघन गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम कडा कानुनी कारबाही गरिनेछ ।’ यससँगै विभागले यात्रुहरूलाई पनि सचेत रहन र नियम विपरीत भाडा असुलिएमा उजुरी गर्न आग्रह गरेको छ ।