राष्ट्रिय श्रम संस्कृति पार्टीले निर्वाचन समीक्षा गर्दै, केन्द्रीय सदस्यको कार्यविभाजन पनि गरिने

काठमाडौं । राष्ट्रिय श्रम संस्कृति पार्टीले भोलि बिहीबार आम निर्वाचनको समीक्षा गर्ने भएको छ । पार्टीका महासचिव आरेन राईका अनुसार वैशाख १० गते निर्वाचनको समग्र समीक्षा तथा केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने कार्यक्रम तय गरिएको छ । 'देशभरबाट प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागितामा आयोजना हुने उक्त बैठकमा निर्वाचन परिणाम, संगठन विस्तार र आगामी रणनीतिबारे विस्तृत छलफल गरिनेछ,' राईले भने । महासचिव राईका अनुसार भोलिको बैठकमै नेताहरूको कार्यविभाजन समेत गरिने छ । निर्वाचनको समीक्षा र कार्यविभाजनसँगै उत्साहसहित कार्यक्षेत्रमा फर्कने तयारी पार्टीको रहेको छ । निर्वाचनपछि पहिलोपटक हुन लागेको यस समीक्षात्मक बैठकलाई पार्टीले आफ्नो आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि गठन भएको उक्त पार्टीले पहिलो निर्वाचनमै उल्लेखनीय सफलता हासिल गर्दै ७ सिट जितेको थियो ।

मिटरब्याज लेनदेनका तेह्र उजुरी

चितवन । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका १३ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।   जेनजी आन्दोलनमा कार्यालयका कागजपत्र नष्ट भएपछि पीडितहरुले पुनः न्यायका निम्ति निवेदन दिएका हुन् । पीडितबाट निवेदन परेपछि स्थानीय प्रशासनले दुवै पक्षलाई बोलाएर छलफल सुरु गरेको छ ।  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार परेका उजुरीमध्ये अधिकांश जग्गा कारोबार र ‘चेक बाउन्स’का रहेका छन् ।   

गृह अब प्रधानमन्त्रीकै जिम्मामा

काठमाडौं । सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन् ।  तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्री मातहत रहने प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । सरकार बनेको २६ औं दिनमै उनले राजीनामा दिएका हुन् । विवादमा तानिएपछि उनले राजीनामा दिएका हुन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा पक्राउ परेका विचौलिया दीपक भट्टसँग उनको व्यवसायिक कनेक्सन भएको देखिएपछि गृहमन्त्री गुरुङ प्रश्नको घेरामा आएका हुन् । मन्त्री गुरुङले स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा भट्टसँगै लगानी गरेको देखिएको छ । उनीसँगै सुलभ अग्रवालको पनि उक्त कम्पनीमा साझेदारी देखिन्छ । भट्ट र अग्रवाल नै अहिले सम्पत्ति शुद्धीकरणको अनुसन्धान क्रममा हिरासतमा छन् ।  स्टार माइक्रो इन्स्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९ औं नम्बरमा उनको नाम समावेश छ । उनले उक्त कम्पनीमा २५ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । तर, सम्पत्ति विवरणमा भने उनले सो लगानीबारे खुलाएका छैनन् । सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक अभियन्ताको सम्पत्ति अस्वाभाविक भन्दै उनको चौतर्फी आलोचना भएको थियो । मन्त्री गुरुङको नाम फेवाताल जग्गा प्रकरणमा जोडिएको थियो । २६ दिनमै बालेन्द्र सरकारका दुई मन्त्री पदमुक्त