भ्रामक सूचना फैलाउनेलाई कडा कारबाही गर्ने सरकारको चेतावनी
काठमाडौं । पछिल्लो समय अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचनाहरू बढ्दै गएको प्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बुधबार (आज) एक विज्ञप्ति जारी गर्दै यस्ता कपोलकल्पित सामग्रीले समाजमा गलत मनोविज्ञान फैलाएको र आम नागरिकलाई भ्रमित पारेको उल्लेख गरेको छ । सरकारले भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताउँदै त्यस्ता गतिविधिमा संलग्न हुने जो-कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ । समाचार प्रदायक संस्था तथा व्यक्तिहरूलाई आधिकारिक निकायबाट पुष्टि नभएका र हचुवाका भरमा कुनै पनि सामग्री प्रकाशन वा प्रसारण नगर्नसमेत मन्त्रालयले सचेत गराएको छ । यदि कसैले आधारहीन र भ्रामक समाचार फैलाएको पाइएमा विद्युतीय कारोबार ऐन तथा अन्य सम्बद्ध कानुन बमोजिम कडा कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कुनै पनि सामग्री आफ्नो व्यक्तिगत खाताबाट सेयर गर्नुअघि त्यसको आधिकारिकता जाँच गर्न र भ्रम फैलाउने कार्यमा सहभागी नहुन मन्त्रालयको अपिल छ । मन्त्रालयले भ्रामक सूचना फैलिएको थाहा पाएमा वा त्यस्ता सामग्रीबारे केही गुनासो भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको सामाजिक सञ्जाल गुनासो दर्ता पोर्टलमा उजुरी दिन सकिने जनाएको छ। साथै थप जानकारीका लागि फोन नम्बर वा इमेलमा समेत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
भट्ट र अग्रवाललाई अनुसन्धान गर्न ३० दिन माग्दा अदालतले दियो ७ दिनको म्याद
काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि अदालतले अनुसन्धान गर्न सात दिनको म्याद थप गरेको छ । बुधबार काठमाडौं जिल्ला अदालतले न्यायाधीश तीलकबहादुर कार्कीको इजलासले ७ दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३० दिनको समय मागेर म्याद थपका लागि दुवै जनालाई अदालतमा उपस्थित गराएको थियो । तर, अदालतले भने ७ दिनको मात्रै म्याद दिएको हो । यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो । त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका थिए ।
रेस्टुरेन्टमा खाजा खाएर बिल नतिर्ने सम्धी ग्रुपका १० जना पक्राउ
काठमाडौं । ललितपुरमा प्रहरीलाई ड्युटीमा अवरोध गर्नुका साथै होटल, रेस्टुरेन्टमा खाजा खाएर बिल नतिर्ने सम्धी ग्रुपका १० जना पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरका अनुसार ३९ वर्षीय इश्वरमान तामाङ, २९ वर्षीय सुरेन्द्र योन्जन, २७ वर्षीय निकेश तामाङ, ४० वर्षीय प्रकाश डिम्डुङ, २८ वर्षीय राजेश तामाङ, २८ वर्षीय गणेश नेगी, ४० वर्षीय वीरबहादुर स्याङतान, २३ वर्षीय विजय स्याङ्तान, २२ वर्षीय दिनेश भोम्जन र २० वर्षीय साजन तामाङ पक्राउ परेका हुन् । ललितपुर चापागाँउ एरियामा लामो समयदेखि ललितपुर सम्धी ग्रुप तथा झयालुङ्टार ग्रुपका नाममा उनीहरूले रेष्टुरेन्टमा पैसा नर्तिर्ने, हप्ता उठाउने, प्रहरीलाई समेत ड्युटीमा अवरोध गर्ने, गिटी तथा प्राकृतिक स्रोतमा दादागिरी गर्ने लगायतका काम गर्दै आइरहेका थिए । हुलहुज्जत गर्दै टिम बनाई हिँड्ने र डर त्रास सिर्जना पैदा गर्ने गरेको ललितपुर प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले बताए । सबैजनालाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।