अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

ईन्द्रा कुमारी केसी काठमाडौं । जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । कैलालीको बर्दगोरिया गाउँपालिका-३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुन् । जन्मजात दृष्टिविहीन उनले अँध्यारोसँग हार मान्नु भएन, बरु त्यही अँध्यारो भित्रबाट उज्यालो खोज्दै आफू मात्र होइन, हजारौं विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लागे । विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सकेका छन् । उनका लागि विद्यालय केवल जागिर खाने थलो मात्र होइन, जीवनको उद्देश्य हो । उनी कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीको क्षमता, सम्भावना र भविष्य देख्ने आत्मदृष्टिले उभिन्छन् । उनले पढाएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा स्थापित छन् । गाउँबाट पढेका ती विद्यार्थीहरू सफल भएको देख्दा उनलाई आफ्नो सङ्घर्ष सार्थक भएको अनुभूति हुन्छ । उनी भन्छन्, ‘मैले दिएको सानो ज्ञानले पनि कसैको जीवन बदलिन्छ त्योभन्दा ठुलो खुसी अरू केही हुँदैन ।’ तर, उनको जीवन यात्रा सहज भने थिएन । सानै उमेरमा बुबा–आमा गुमाउनु पर्‍यो । पारिवारिक सहारा कमजोर बन्दै गयो । दृष्टि कमजोर हुँदा दैनिक जीवन झन् कठिन बन्दै गयो । दाजु पनि दृष्टिविहीन हुँदा दिदी, भिनाजु र बहिनीको सहारामा बाँच्नु परेको उनी बताउँछन् । बाल्यकालमा भोगेका अपमान र पीडा आज पनि उनका स्मृतिमा ताजा छन् । गाउँमा कतिपयले उनलाई ‘अन्धो’ भनेर बोलाउँथे, सँगै हिँड्न हिचकिचाउँथे । हिँडडुल गर्न, विद्यालय जान दैनिक जीवनयापन निर्वाह गर्नलगायत सबै कुरा चुनौतीपूर्ण थियो । यी कठिनाइले उनलाई कमजोर बनाउनुको साटो अझ बलियो बनायो । सुरुमा आफूले पढ्न सक्दिनँ भन्ने लागे पनि एक जना शिक्षकको साथ र प्रेरणाले उनको सोच बदलियो । शिक्षकले घरमै आएर पढाइमा सहयोग गरेपछि उनको आत्मविश्वास बढ्दै गयो । उनले बुझ्दै गए की शारीरिक क्षमतामा सीमितता भए पनि सिक्ने चाहना र मेहनत भए सम्भावना असीमित हुन्छ । एसएलसी उत्तीर्ण गरेपछि उनले शिक्षण पेसामा पाइला टेके । त्यो समय उनका लागि केवल जागिर सुरु गर्ने क्षण थिएन, जीवनलाई नयाँ अर्थ दिने मोड थियो । दृष्टिविहीन भएर पनि कक्षामा उभिएर पढाउनु सजिलो थिएन । तर उनले कहिल्यै आफूलाई कमजोर ठान्नुभएन बरु कमजोरीलाई नै शक्ति बनाउँदै अघि बढे । अध्यापनसँगै उनले उच्च माध्यमिक तह उत्तीर्ण पनि गरे । कक्षामा उनी केवल पाठ्यपुस्तकका कुरा मात्र गर्नुहुन्न जीवनका अनुभव पनि साट्छन् । उनको पारिवारिक जीवन पनि सङ्घर्षपूर्ण छ । उनकी श्रीमती पनि दृष्टिविहीन छन् । १३ वर्षीय छोरी र दुई वर्षीय सानो छोराको जिम्मेवारी उनीहरूले मिलेर सम्हालिरहेका छन् । छोरीले सानो उमेरमै ठुलो जिम्मेवारी बोकेकी छन् । घरको कामकाजदेखि बाबुआमाको हेरचाहसम्ममा उनी सक्रिय छिन् । चौधरीको जीवनमा सङ्गीत र साहित्यले पनि विशेष स्थान ओगटेको छ । उनी कहिलेकाहीँ गीत गाउँछन् भने कविता पनि लेख्छन् । सानै कक्षामा पढ्दा लेखेको एउटा कविताले आज पनि उनको सोच झल्काउँछ, ‘आँखा बन्द भए पनि दिमाग बन्द हुँदैन’ यही विश्वासले उनलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको छ । समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति दृष्टिकोण बिस्तारै बदलिँदै गएको छ । ‘पहिले हेप्नेहरू आज सम्मानका साथ बोलाउँछन्, सल्लाह माग्छन्,’ उनी भन्छन् । गाउँमा कुनै कार्यक्रम हुँदा उनलाई विशेष रूपमा बोलाइन्छ । उनी अब केवल एउटा व्यक्ति मात्र होइन, अनुभव र प्रेरणाको स्रोत बनेका छन् । उनका विचारमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर चाहिन्छ । ‘हामीलाई कमजोर ठानेर पछाडि राख्नु हुँदैन, अवसर दिइयो भने हामी पनि काम गर्न सक्छौँ,’ उनी भन्छन् । रासस

हिमाल र पहाडमा आंशिक बादल लाग्ने, तराईमा तातो लहर चल्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा देशका हिमाली र पहाडी भू-भागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी, गण्डकी र कर्णाली  प्रदेशको मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षार हिमपातको सम्भावना रहेको छ ।  मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भू-भागलगायत बागमती, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको  महाशाखाले जनाएको छ । 

पालिकाले सरकारको निर्णय नमान्ने, आइतबार पनि विद्यालय सञ्चालन

काठमाडौं । खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ । विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । वैशाख १० गतेसम्म भर्ना अभियान र १३ गते आइबारदेखि पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा संयोजक तथा वडा नं ६ इन्द्रेणीपोखरीका वडाध्यक्ष वसन्त राईले जानकारी दिनुभयो । गाउँपालिकामा मङ्गलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत १२ गतेको बैठकले शनिबार र आइतबार हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत २६ गते ७७ वटै जिल्लामा सरकारले दिएको निर्देशन पालना गर्न पत्राचार गरेको थियो । खोटाङका १० स्थानीय तहमा ४८३ सामुदायिक तथा १६ वटा निजी विद्यालय सञ्चालनमा छन् ।