बाढी प्रभावित ४ जिल्लामा टेलिकमको फोन र डेटा निःशुल्क

काठमाडौं । बाढीबाट प्रभावित धादिङ, नुवाकोट, रसुवा र चितवन जिल्लामा उद्धार तथा समन्वयका लागि नेपाल टेलिकमको फोन र डाटा सेवा निःशुल्क गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सञ्चार सम्पर्क सहज होस् भन्ने उद्देश्यले टेलिकमको सेवा निःशुल्क गरिएको हो ।

नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डेटा तथा ५० एसएमएस निःशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए ।

टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर जानकारी गराइरहेको छ ।

नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा दुई वटा र नुवाकोटमा पाँचवटा गरी सातवटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । 

टावर तथा सेवा पूर्वाधारको मर्मतसम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ ।

यससँगै बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिने निजी हेलिकप्टरलाई उडानका लागि छुट्टै अनुमति लिनु नपर्ने व्यवस्था पनि मिलाइएको छ ।

सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिन आवश्यक समन्वय र सहजीकरण भइरहेको जनाएको छ ।

Share News