डा खड्का कर्णाली प्रदेशसभाको सचिवमा नियुक्त
काठमाडौं । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुन कुमार खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा. खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गरेको हो । नवनियुक्त प्रदेशसभा सचिव खड्काले मङ्गलबार नै पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण रे । खड्का सिद्धिचरण नगरपालिका-९ ओखलढुङ्गा जिल्लाका स्थायी निवासी हुन् । सङ्घीय संसद सचिवालयमा ५ वर्ष कानुन सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ । संविधान निर्माणका क्रममा संविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनले वि.सं २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा प्रदेशसभा बैठक सञ्चालनमा सहजीकरण गरेका थिए ।
कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउन मन्त्री चौधरीको निर्देशन
काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को केन्द्रीय कार्यालयमा आज (मंगलबार) अध्यक्षको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि मन्त्री चौधरीले कृषि क्षेत्रमा नार्कले पु¥याएको योगदानको प्रशंसा गर्दै बदलिँदो राष्ट्रिय आवश्यकताअनुसार अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले कृषि अनुसन्धान मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै नार्कलाई राष्ट्रिय ‘थिंक ट्यांक’ तथा प्राविधिक सहयोगको अग्रणी संस्थाका रूपमा अघि बढाउनुपर्ने बताइन् । चौधरीले कृषि अनुसन्धानलाई सरकारको उच्च प्राथमिकतामा राखिएको बताइन् । परिषद्को अध्यक्षका रूपमा पदभार ग्रहणपछि आयोजित ब्रीफिङ तथा सम्बोधन कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । मन्त्री चौधरीले नेपालमा कृषि क्षेत्रको अवस्था अपेक्षाअनुसार सन्तोषजनक नभएको उल्लेख गर्दै किसान पेशालाई सम्मानित र मर्यादित बनाउन अनुसन्धानमुखी कार्य आवश्यक रहेको बताइन् । ‘हामीमध्ये धेरै किसानका छोराछोरी हौं, तर आज किसानको सन्तान भएकोमा गर्व गर्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘यस अवस्थालाई बदल्ने जिम्मेवारी नार्कमाथि छ ।’ उनले सरकारले कृषि क्षेत्रमा सुधारका लागि विभिन्न योजना अघि सारे पनि अनुसन्धानलाई प्राथमिकतामा नराखी कार्यान्वयन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिन् । अबको नीति भने अनुसन्धानलाई केन्द्रमा राखेर अघि बढ्ने रहेको उनको भनाइ थियो । मन्त्री चौधरीले अनुसन्धानलाई प्रयोगशालामा सीमित नराखी किसानको खेतमै विस्तार गर्नुपर्नेमा जोड दिँदै ‘किसानको खेतलाई नै ल्याब बनाउनु पर्छ’ भन्ने धारणा राखिन् । साथै, विश्वविद्यालयहरूसँग सहकार्य गरी मानव स्रोतको उपयोग गर्नुपर्ने र अनुसन्धानमा समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याइन् । उनले कृषि क्षेत्रमा जनचेतनाको कमी प्रमुख समस्याका रूपमा रहेको उल्लेख गर्दै मलको प्रयोगदेखि उत्पादन व्यवस्थापनसम्म किसानलाई प्रत्यक्ष रूपमा जानकारी पु¥याउने संयन्त्र विकास गर्न निर्देशन दिइन् । रासायनिक मलको अभावलगायत समस्याको दीर्घकालीन समाधान खोज्न अनुसन्धानलाई सुदृढ बनाउनुपर्नेमा पनि उनले जोड दिइन् । उनले मन्त्रालय तथा सरकार आवश्यक स्रोत र सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै कर्मचारीहरूलाई जिम्मेवारीप्रति गम्भीर भएर काम गर्न निर्देशन दिइन् । कार्यक्रममा परिषद्का वैज्ञानिक, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको थियो ।
हेटौंडाको हटिया क्षेत्रमा प्रसारण लाइनको काम अगाडि बढ्यो
काठमाडौं । हेटौंडाको हटिया क्षेत्रमा लामो समयदेखि मुआब्जा विवादका कारण अगाडि बढ्न नसकेको प्रसारण लाइन निर्माणको काम सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौंडाको हटिया क्षेत्र) मा टावर राख्ने कार्य अगाडि बढेको हो । मन्त्री श्रेष्ठको पहलमा सरोकार भएका पक्षसँगको सहमतिपछि टावर राख्ने कार्य अगाडि बढेको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले यसै साता जग्गाधनी र त्यस क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरी मुआब्जा विवादलाई टुङ्ग्याएका हुन् । टावर निर्माण हुने क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सात वटा टावरको जग खन्ने र ‘कङ्क्रिटिङ’ गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ । सन् २०१२ बाट निर्माण सुरु भएको प्रसारण लाइनअन्तर्गत त्यस क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा समस्या भएको थियो । नेपालमा विद्युत् प्रणालीको मेरुदण्डका रूपमा लिइने उक्त परियोजना सम्पन्न भएपछि विद्युत् आपूर्ति प्रणाली विश्वसनीय हुनाका साथै निर्यातका लागि पूर्वाधार तयार हुनेछ । प्रसारण लाइन निर्माणले निजी क्षेत्रलाई ठूलो राहत प्रदान गर्ने मन्त्रालयले जनाएको छ । सोही परियोजनाको पूर्वी खण्ड (ढल्केबर-इनरुवा) तीन वर्षअगाडि नै सम्पन्न भइसकेको छ ।