ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने
काठमाडौं । ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को स्वामित्वमा रहेको चार रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिएसँगै प्रक्रिया पूरा भएको हो । लामो समयदेखि अवरुद्ध रहेको उक्त सबस्टेशन निर्माणका गर्न ऊर्जा, जलस्रोत तथा मन्त्रालयले पहल गरेको थियो । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई सुदृढ, भरपर्दो र दिगो बनाउनका निम्ति सो क्षेत्रमा उच्च क्षमताको जीआइएस सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाइएको थियो । तर, जग्गा प्राप्त नहुँदा चार वर्षभन्दा बढी समयदेखि परियोजना रोकिएको थियो । उक्त सबस्टेशन एसियाली विकास बैंक (एडिबी)को ऋण लगानीमा दुई अर्ब रुपैयाँको लागतमा निर्माण हुनेछ । भक्तपुरको ठिमीबाट आउने भूमिगत विद्युत् प्रसारण लाइन बालकुमारीस्थित जीआइएस सबस्टेशनमा जोडिनेछ । तत्पश्चात् टेकु सबस्टेशनमा जोड्ने प्राधिकरणको तयारी छ । उक्त सबस्टेशनको निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्मको विद्युत् माग पूरा गर्न सहज हुनेछ । केयुकेएलले बालकुमारीमा स्थापना गर्ने ढल प्रशोधन केन्द्रलाई आवश्यक पर्ने विद्युत् प्राधिकरणले निःशुल्क दिने र त्यसबापत प्राधिकरणले २५ वर्षसम्मका लागि तीन रोपनी १३ आना दुई पैसा जग्गा उपभोग गर्ने सहमति भएको छ । जग्गा प्राप्तिको प्रक्रिया पूरा भएसँगै सबस्टेशन निर्माणका लागि बोलपत्र आह्वान गरिनेछ ।
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
लमजुङ । हिउँदे वर्षाका कारण पहिरो जाँदा यहाँ मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । उनले भने, 'गएरातिदेखि नै हालसम्म वर्षा भइरहेका कारण सो क्षेत्रमा पहिरो जाँदा सो मार्गमा आवत जावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेको छैन ।' पहिरो तत्काल खुलाउन पहल भइरहे पनि वर्षाले प्रभावित भएको कारण पहिरो खुलाउन समय लाग्छ उनले भने । साथै यस सडकखण्डमा विभिन्न खोला रहेको र सो खोलामा पानीको बहाव उच्च रहेकाले सवारीसाधन सञ्चालन हुन नसक्ने प्रहरीले जनाएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने
चितवन । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन पेस गर्न सक्ने जनाएको छ । सूचनामा अस्पतालको ऐन, २०५३ को दफा ७ को उपदफा ९१० को खण्ड ९क०मा उल्लेख भएबमोजिम योग्यता भनिएको छ । जसअनुसार अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थानबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त वरिष्ठ चिकित्सहरूमध्येबाट सरकारले मनोनित गर्ने भनिएको छ । अध्यक्ष पदको पदावधि तीन वर्षको रहने छ । यसअघि २०७९ साल चैत २० मा बसेको मन्त्रिपरिषद्को बैठकले डा विजयराज न्यौपानेलाई अस्तपालको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको तीनवर्षे पदावधि सकिएपछि नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको हो । पहिलोपटक खुला आवेदनमार्फत अध्यक्ष नियुक्ति गर्न लागिएको हो ।