बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता
काठमाडौं । बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित अमेरिकी विमान निर्माता बोइङसँग तीन अर्ब ७० करोड डलरको ठूलो सम्झौता गर्ने तयारी गरेको छ । यसअन्तर्गत आगामी दशकमा १४ वटा नयाँ विमान खरिद गरिनेछ, जसले देशको हवाई सेवामा उल्लेखनीय विस्तार ल्याउने अपेक्षा गरिएको छ । राज्य सञ्चालित बीएसएस समाचार एजेन्सीका अनुसार यो सम्झौता संयुक्त राज्य अमेरिकासँग भएको व्यापार तथा कर सहमतिको एक महत्त्वपूर्ण अंश हो । उक्त योजनाले बङ्गलादेश एयरलाइन्सको इतिहासमै सबैभन्दा ठूलो आधुनिक फ्लीट विस्तार सुनिश्चित गर्ने बताइएको छ । प्रस्तावित सम्झौताअनुसार आठ वटा बोइङ ७८७–१० ड्रीमलाइनर, दुई वटा बोइङ ७८७–९ ड्रीमलाइनर र चार वटा बोइङ ७३७–८ म्याक्स विमान खरिद गरिनेछन् । यससम्बन्धी औपचारिक हस्ताक्षर समारोह बिहीबार साँझ ढाकामा आयोजना हुने तय गरिएको छ । हाल बङ्गलादेश एयरलाइन्ससँग १९ वटा विमान छन्, जसमध्ये करिब १४ वटा बोइङ कम्पनीकै रहेका छन् । नयाँ खरिदले कम्पनीको सेवा क्षमता, दक्षता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने विश्वास गरिएको छ । यो खरिद निर्णयको पृष्ठभूमिमा राजनीतिक र आर्थिक परिवर्तन पनि जोडिएको छ । सन् २०२४ को राजनीतिक उथलपुथलपछि अन्तरिम सरकारले अगस्ट २०२५ मा उक्त खरिदमा सहमति जनाएको थियो । त्यसपछि फेब्रुअरी २०२६ मा नयाँ सरकार निर्वाचित भएको हो । बङ्गलादेशले संयुक्त राज्य अमेरिकासँगको व्यापार सन्तुलन मिलाउन तथा सम्भावित उच्च करबाट जोगिन यो सम्झौता अघि बढाएको हो । विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादकका रूपमा रहेको बङ्गलादेशको कुल निर्यातमा करिब ८० प्रतिशत हिस्सा कपडा तथा रेडिमेड गार्मेन्टको छ, जसमा अमेरिकी बजारले करिब २० प्रतिशत हिस्सा ओगटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बङ्गलादेशी वस्तुमा उच्च कर लगाउने चेतावनी दिएपछि ढाकाले बोइङ विमान खरिदका साथै अमेरिकी गहुँ, कपास र तेल आयात बढाउने प्रस्ताव अघि सारेको थियो । सुरुमा २५ वटा विमान खरिद गर्ने प्रस्ताव गरिए पनि पछि घटाएर १४ मा सीमित गरिएको हो । यो निर्णयले युरोपेली विमान निर्माता एयरबससँग भइरहेको सम्भावित सम्झौतामा असर पारेको छ । बङ्गलादेशसँग एयरबस विमान बिक्रीका लागि भइरहेको छलफल यस सम्झौतापछि प्रभावित भएको बताइएको छ । ट्रम्प प्रशासनले बङ्गलादेशी कपास उत्पादनमा ३७ प्रतिशतसम्म कर लगाउने चेतावनी दिएको थियो, जुन पछिल्लो सहमतिपछि घटाएर २० प्रतिशतमा ल्याइएको छ । यसले बङ्गलादेशको निर्यातमुखी अर्थतन्त्रलाई केही राहत दिएको छ । सन् २०२४ को अशान्तिपछि पुनःस्थापनाको चरणमा रहेको बङ्गलादेशको गार्मेन्ट उद्योगलाई स्थिर बनाउन पनि यस्तो आर्थिक तथा व्यापारिक सम्झौताले भूमिका खेल्ने अपेक्षा गरिएको छ । रासस
नेपालको कानुनी क्षेत्रलाई डिजिटल बनाउन कोइकाले २७ करोड सहयोग गर्ने
काठमाडौं । नेपालको कानुनी सूचना व्यवस्थापन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बीच ‘नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापना’ परियोजनाका लागि औपचारिक सम्झौता भएको छ । कोरिया गणतन्त्र सरकारको १.८ मिलियन अमेरिकी डलर (२७ करोड ३१ लाख नेपाली रुपैयाँ) अनुदान सहयोगमा सञ्चालन हुने यस परियोजनाले सन् २०२७ सम्ममा नेपालको कानूनी प्रशासनलाई डिजिटल स्वरूप दिने लक्ष्य राखेको छ । परियोजना कार्यान्वयनका लागि कोइका नेपालका कन्ट्री डाइरेक्टर मुहन कोङ र मन्त्रालयकी सह(सचिव अरुणा जोशीले ‘रेकर्ड अफ डिस्कसन’ (आरओडी) मा हस्ताक्षर गरे । यस परियोजनाले नेपालका विद्यमान कानून, नियमावली र संशोधनहरूलाई सर्वसाधारणको पहुँचमा पुर्याउन एक अत्याधुनिक डिजिटल प्लेटफर्मको विकास गर्नेछ । यसअन्तर्गत एक केन्द्रिकृत कानुन सूचना केन्द्र पोर्टल, कानुनी इतिहास व्यवस्थापनका लागि कानून सम्पादन प्रणाली र संस्थागत निरीक्षणका लागि प्रशासकीय प्रणाली स्थापना गरिनेछ । परियोजनालाई दिगो बनाउन कोइकाले आवश्यक सर्भर, स्टोरेज र सुरक्षा फायरवालजस्ता प्राविधिक पूर्वाधार उपलब्ध गराउनुका साथै सरकारी अधिकारी, प्राविधिक र कानुन व्यवसायीहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम र सर्वसाधारणका लागि सचेतना सत्रहरू समेत सञ्चालन गर्ने योजना बनाएको छ । परियोजनाको प्राविधिक पक्षलाई सुदृढ बनाउन दक्षिण कोरियाको सरकारी कानून मन्त्रालय र कोरिया कानून सूचना सेवाले विशेष प्राविधिक सहयोग उपलब्ध गराउनेछन् । सम्झौता कार्यक्रममा कानुन मन्त्रालयका सचिव परेश्वर ढुंगानाले यो प्रणालीले मन्त्रालयको आन्तरिक कार्यप्रणालीमा रूपान्तरण ल्याउने र सरकारको पारदर्शिता एवं सुशासनप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउने विश्वास व्यक्त ग‍रे । त्यस्तै, सह-सचिव अरुणा जोशीले किवर्डका आधारमा कानून खोज्न मिल्ने प्रणालीले विधायी कार्यलाई सहज बनाउने बताए भने कोइकाका कन्ट्री डाइरेक्टर मुहन कोङले यसलाई नेपालको डिजिटल सुशासनको यात्रामा एउटा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चित्रण गरे । सन् १९९१ देखि नेपालको विकास साझेदार रहेको दक्षिण कोरियाले कोइकामार्फत हालसम्म स्वास्थ्य, शिक्षा, कृषि र सूचना प्रविधि लगायतका क्षेत्रमा २३५ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग गरिसकेको छ । यो नयाँ परियोजनाले नेपालको कानुनी राज्यको अवधारणालाई थप मजबुत बनाउँदै दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
दिगोपन र संस्कृतिसँग जोडिँदै काठमाडौं मेरियटको सात वर्ष
काठमाडौं । काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा सातौं वार्षिकोत्सव मनाएको छ । नेपाललाई विश्व आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा स्थापित गर्ने लक्ष्यसहित सुरु भएको होटलको यात्रा आज मानिस, साझेदारी र उद्देश्यमा आधारित प्रेरणादायी कथामा परिणत भएको बताइएको छ । स्थापनादेखि नै होटलले केवल व्यवसायिक गतिविधिमा सीमित नभई नेपाली संस्कृति, आत्मीयता र स्थानीय विशेषतालाई आफ्ना सेवामा समेट्दै आएको जनाएको छ । होटलका सञ्चालक गौरव अग्रवालले सुरुवाती दिन सम्झँदै नेपालले विश्वस्तरको आतिथ्य क्षेत्रमा स्थान पाउन सक्छ भन्ने विश्वासकै आधारमा होटल स्थापना गरिएको बताए । 'हामी केवल भवन निर्माण गरिरहेका थिएनौं, विश्वास र उच्चस्तरीय मापदण्ड निर्माण गरिरहेका थियौं,' उनले भने । महाप्रबन्धक शंकुष महाजनका अनुसार सात वर्षपछि लक्जरीसँगै जिम्मेवारी पनि थपिएको छ। होटल एलईईडी गोल्ड सर्टिफाइड भएको उल्लेख गर्दै उनले दिगोपन र ऊर्जा दक्षतामा आफूहरू प्रतिबद्ध रहेको बताए। वार्षिकोत्सव समारोहमा विशिष्ट अतिथि, ग्राहक, ट्राभल एजेन्ट तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा मिंग्मा डेभिड शेर्पा सहभागी भएका थिए, जो गिनिज वर्ल्ड रेकर्डधारी तथा ‘पिओलेट डि’ओर एशिया’ सम्मान प्राप्त गर्ने पहिलो नेपाली हुन् । कार्यक्रममा दिगोपनाको सन्देश दिन पाहुनालाई गमलासहितको बिरुवा उपहार दिइएको थियो। साथै, तीन पटक राष्ट्रिय पुरस्कार प्राप्त कलाकार कृष्ण लामाका कलाकृतिहरू प्रदर्शन गरिएका थिए, जसको बिक्रीबाट प्राप्त रकमको एक हिस्सा प्रिजनर्स असिस्टेन्स नेपालाई प्रदान गरिने जनाइएको छ । संस्थाकी अध्यक्ष सुवानी आले मगरको उपस्थिति पनि कार्यक्रममा रहेको थियो । होटलले सन् २०१९ देखि मेरियट इन्टरनेशनलको विश्वव्यापी अभियानमा सहभागिता जनाउँदै आएको छ । सन् २०२३ सम्म आइपुग्दा होटलले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै अन्तर्राष्ट्रिय ब्रान्डलाई स्थानीय सन्दर्भमा सफलतापूर्वक रूपान्तरण गरेको जनाएको छ ।