जसको घरसँगै सपना गुम्यो

काठमाडौं । आँखाभरि आँसु टिलपिलिएको छ । काँधमा सानो एउटा झोला झुण्डिएको छ । आफ्नो जीवनकै पहिलो संसार घर भत्किँदै गरेको दृश्यतिर टोलाएर हेरिरहेकी छिन् जिना राई । त्यो घर, जहाँ उनले हाँस्न सिकिन्, दौडिन सिकिन्, साथी बनाउन सिकिन् । आज सरकारको डोजरले माटोमा मिसाइरहेको छ । छेउमै उनका बुवाआमा कवाडीवालासँग घरका बाँकी सामान बेच्ने कुरा गर्दैछन् । जिना भने केही पर उभिएर भत्किएको घरभित्रका टुक्रा–टुक्रा सम्झनाहरू खोजिरहेकी छिन् । सायद उनको मनपर्ने किताब, कुनै पुरानो खेलौना, वा उनीसँग मात्र जोडिएको कुनै सानो रहस्य- सबै माटोमुनि पुरिएका छन् ।  उनको अनुहारमा मौनता छ । तर, त्यो मौनताले धेरै कुरा बोलिरहेको छ । उनी कक्षा दुई सकेर तीनमा जाँदैछिन् । यो टोलमा उनका साथीहरू थिए, सँगै स्कुल जाने, सँगै खेल्ने, सँगै हाँस्ने । तर, आजदेखि त्यो संसार चिराचिरा भएको छ । अब उनीहरू एउटै ठाउँमा कहिल्यै भेटिने छैनन् ।  जिना राई बिहानको ठीक १० बजेर २१ मिनेट । समय मात्र होइन, जिनाको जीवन पनि त्यही क्षणमा रोकिन पुगेको जस्तो लाग्छ । डोजर आयो र केबल घर होइन, उनका बाल्यकालका सपना र सम्झनाहरु पनि भत्काएर गयो । उनलाई थाहा छैन, अब उनी कहाँ जान्छिन् । नयाँ ठाउँ, नयाँ स्कुल, नयाँ साथी– यी सबै अनिश्चितताका भारी प्रश्नहरू उनका साना काँधमा थुप्रिएका छन् ।  रातभरि बुवाआमाले सामान प्याक गरिरहे । उनी सुत्न सकिनन् । दिदीले सम्झाइन्, ‘हामी अब अन्त कतै जानुपर्छ ।’ तर ‘अन्त कतै’ भन्ने ठाउँ कस्तो हुन्छ भन्ने उनलाई थाहा छैन । त्यसैले उनी अझै पनि आफ्ना स–साना सामान खोजिरहेकी छिन् । शायद, उनी त्ी सामानमा आफूलाई र आफ्नो बाल्यकाल खोजिरहेकी छिन् ।  जिना त एउटा पात्र मात्र हुन् । त्यहीँ, बल्खुको सुकुम्बासी बस्तीमा हजारौं जिनाहरू छन् । जसका आँखामा आँसु छ, मनमा डर छ, र भविष्य अन्योलमा छ । बस्तीभरि रुवाबासी छ । केही बेरअघि देखिएको घर, केही बेरपछि बिलाउँछ । जस्तो लाग्छ, डोजरले घर मात्र होइन, अबोध बालबालिकाको छाती नै चिरिरहेको छ । विकल तामाङ त्यही भीडमा अर्का पात्र छन् विकल तामाङ । उनको घर भत्किँदा उनी नजिकै उभिन पनि पाएनन् । नेपाल प्रहरीले बन्दुक देखाएर टाढा हटायो । उनी केही पर उभिएर आफ्नै जीवन भत्किँदै गरेको हेर्दै रहे । जब डोजरले घरलाई पूर्ण रूपमा ढाल्यो, उनी त्यहीँ आएर भक्कानिए । ‘कपडा र भाँडाकुँडा त उठाएँ,’ उनी भन्छन्, ‘तर कोठा नपाएको कारण धेरै सामान निकाल्नै पाइएन ।’ बल्खु उनको जन्मथलो हो । यहीँ हुर्किए, यहीँ सपना देखे । बुवाआमाले २१ वर्षको मिहिनेतले बनाएको घर आज माटोमा बिलीन भयो । उनकी आमा अब यस संसारमा छैनन्, र बुबा हेटौंडामा छन् । तर, बाबुको पसिनाले बनेको घर उनकै आँखा अगाडि ढल्यो । ‘मेरो घर मात्र भत्केको छैन, मेरा सपना पनि यहीँ माटोमा गाडिएका छन् । सोचेको थिएँ, विदेश गएर पैसा कमाउँछु, घर राम्रो बनाउँछु, बिहे गरेर सबै टोललाई भोज खुवाउँछु । तर...’ उनी भक्कान्निछन् ।  ‘मेरो घर मात्र होइन, मेरो सबैथोक भत्कियो । हामीलाई कहाँ लैजाने हो, त्यो भनिदिएको भए पनि सजिलो हुन्थ्यो,’ उनी भन्छन् । त्यसपछि उनी प्रश्न गर्छन् ‘एक नागरिकको, एक पीडितको, एक आवाजविहीन मान्छेको प्रश्न, ‘यो जमीन सरकारको हो भने हामी जनता कसका हौं ? के हामी यस देशका नागरिक होइनौं ? के हामीलाई बस्ने अधिकार छैन ? किन गरिबमाथि यति धेरै अन्याय ?’ राम लिम्बु राम लिम्बु पनि २१ वर्षदेखि यहीँ बस्दै आएका छन् । पाँच जनाको परिवार, सबै बच्चाहरू यहीँ जन्मिएका । अब उनीहरू कहाँ जान्छन् थाहा छैन ।  बल्खुको धूलोमा अहिले केवल इँटा र ढुंगा मात्र छैनन् त्यहाँ सपना छन्, सम्झनाहरू छन्, र हजारौं अधुरा भविष्यहरू हराएका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको बिदाइ

काठमाडौं । सेवानिवृत्त भई जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्पराअनुसार बिदाइ गरिएको छ ।   सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरे । शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका हुन् । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ समेत गरे । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धी तथा गौरव महसुस गरेको बताउँदै संगठनलाई परिवारको रूपमा लिई अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको समेत बताए । संगठन सुधार केवल एक प्रमुखको कार्यकालमा शुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको बताउँदै महानिरीक्षक अर्यालले राष्ट्र, संगठन र जनताको सुरक्षासँगै मातहत सशस्त्र प्रहरी कर्मचारीहरूको हितलाई सर्वोपरि राखी काम गरेको उल्लेख गरे । उनले सशस्त्र प्रहरी बल नेपालको बर्दीले सज्जनलाई भर र अपराधीलाई डरको प्रतीकको रूपमा विकास गर्दै लैजानुपर्ने बताउँदै आफ्नो सेवाकालको दौरानमा साथ, सहयोग र उर्जा दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूलाई हार्दिक धन्यवादसमेत दिए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संक्षिप्त जीवनी तथा विशेष योगदानको बायोग्राफीसमेत प्रदर्शन गरिएको उक्त समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र बिल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो ।

भारतमा उष्णलहर बढ्ने चेतावनी

काठमाडौं । भारतका विभिन्न क्षेत्रमा मे महिनाभरि उष्णलहर तीव्र हुने चेतावनी दिइएको छ, जसले विशेषगरी पश्चिमी र तटीय क्षेत्रहरूमा जनजीवन प्रभावित पार्ने सङ्केत देखिएको छ । मौसमविद्हरूका अनुसार यस वर्षको गर्मी सामान्यभन्दा बढी कठोर हुने सम्भावना रहेको छ ।      भारतीय मौसम विभागले सार्वजनिक गरेको पूर्वानुमानअनुसार गुजरात र महाराष्ट्र जस्ता पश्चिमी राज्यहरू तथा पूर्वी तटीय क्षेत्रमा आगामी हप्ताहरूमा चारदेखि पाँच दिनसम्म लगातार उष्णलहरको अवस्था रहनेछ । विभागका प्रमुख मृत्युञ्जय महापात्रले ती क्षेत्रमा तापक्रम चरम अवस्थामा सामान्यभन्दा तीनदेखि पाँच डिग्री सेल्सियससम्म बढी पुग्न सक्ने बताए ।      दक्षिण एसियाली क्षेत्रमा गर्मी नयाँ विषय नभए पनि पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण यसको प्रभाव अझ गम्भीर बन्दै गएको वैज्ञानिक अध्ययनहरूले देखाएका छन् । उष्णलहर अहिले पहिलेभन्दा लामो समय टिक्ने, बारम्बार आउने र बढी तीव्र हुने प्रवृत्ति देखिएको छ, जसले जनस्वास्थ्य र पूर्वाधार दुवैमा जोखिम बढाएको छ ।      यद्यपि, मौसम विभागले भारतका उत्तरी र मध्य भागहरूमा भने अपेक्षाकृत मध्यम तापक्रम रहने अनुमान गरेको छ । सामान्यतया भारतले अप्रिलदेखि जुनबीच चारदेखि सात पटकसम्म उष्णलहर अनुभव गर्ने गर्छ, तर यस वर्ष केही क्षेत्रमा यसको प्रभाव बढी देखिन सक्ने आँकलन गरिएको छ ।      उच्च तापक्रमको जोखिममा विशेषगरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी तथा बाहिरी काम गर्ने श्रमिकहरू पर्ने गर्छन् । अत्यधिक गर्मीले चक्कर लाग्ने, टाउको दुख्ने, थकान हुनेदेखि गम्भीर अवस्थामा अङ्ग विफलता र मृत्युसम्म निम्त्याउन सक्छ । कङ्क्रिट र इँटाले भरिएका सहरहरूमा बसोबास गर्ने मानिसहरू अझ बढी जोखिममा रहने बताइएको छ, किनकि यस्ता संरचनाले ताप सोस्ने र उत्सर्जन गर्ने गर्छन् ।      लामो समयसम्म रहने अत्यधिक गर्मीले विद्युत् आपूर्ति प्रणाली र यातायात जस्ता पूर्वाधारमा समेत दबाब सिर्जना गर्न सक्छ । बढ्दो तापक्रमसँगै ऊर्जा खपत वृद्धि हुने भएकाले पावर ग्रिडमा अतिरिक्त भार पर्ने सम्भावना रहेको छ ।      यसैबीच, मौसम विभागले मे महिनामा सामान्यभन्दा बढी वर्षा हुने पनि पूर्वानुमान गरेको छ । दीर्घकालीन औसतको करिब ११० प्रतिशतभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ, जसले गर्मी र वर्षा दुवैको मिश्रित प्रभाव देखिन सक्ने सङ्केत दिएको छ । रासस