७ दिनभित्र लालपुर्जासहित उपस्थित हुन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ दिनभित्र जग्गाको प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ । मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्रका जग्गाधनी तथा मोहीलाई आवश्यक कागजात लिएर ७ दिनभित्र उपस्थित हुन ताकेता गरेको हो ।  आयोजनाका अनुसार मनोहरा खोलाको बहाव २०२१ सालपछि परिवर्तन भएका कारण काठमाडौं महानगरपालिका-३२ मा दर्ता भएका केही जग्गा मनोहरा खोलाको पूर्वतर्फ पर्न गएका छन् । यससँग सम्बन्धित जग्गाधनी तथा मोहीहरूलाई आफ्नो जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को सक्कलसहित अन्य आवश्यक कागजात लिएर ७ दिनभित्र आयोजनाको कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको हो ।  आयोजनाले आवश्यक कागजात समयमै बुझाउन र थप जानकारीका लागि कार्यालयमै सम्पर्क गर्न पनि आग्रह गरेको छ । 

रोसी खोलाको बाढीमा फसेका ८९ यात्रुको सकुशल उद्धार

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका-७ स्थित लास्कोट र घुमाउनेको बीचमा रोकिएका यात्रुको राति उद्धार गरिएको छ ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ५ माइक्रोबसका ८९ यात्रुलाई गएराति नै सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएका हुन् । सोमबारको वर्षाका कारण रोसी खोलामा पानीको बहाव बढेपछि काठमाडौँतर्फ आउँदै गरेका ती गाडीहरू रोकिएको जनाइएको छ ।  सुरक्षा निकायको तदारुकता तथा मेहनतका कारण रोकिएका यात्रुलाई रातको समयमा सकुशल उद्धार गर्न सकिएको काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । उद्धारका लागि प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीलगायत सुरक्षा निकायका प्रमुख समेत स्थलगत खटिएका थिए । बर्सातपछिको बाढीले रोसी क्षेत्रमा वीपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ ५ बजेदेखि उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेश मार्ग धुलिखेल तथा काभ्रे भञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।  सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीले सुरक्षित स्थानमा रोक्दा रोक्दै लापरबाहीपूर्ण तरिकाले यात्रुको जीउधनलाई बेवास्ता गरेको जनाउँदै प्रहरीले सवारी चलाउने ती माइक्रोबसका चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखी अनुसन्धान भइरहेको जनाइएको छ । दिउँसोको वर्षाका कारण वीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराइएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडक खण्डमा आवागमन बन्द गराइएको हो ।  प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रुलाई अपीलसमेत गरिएको छ ।  बेमौसमी वर्षाका कारण पटकपटक रोसी खोलाको बाढीले वीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो ।  गत सालको बाढी पहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

सरकारी जागिर छाडेर बाख्रा पालन, लाख आम्दानी

काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका-७ बगरका भुवानी पौडेलले सरकारी कार्यालयको जागिर छाडेर बाख्रापालन गरी स्वरोजगार र आत्मनिर्भर बनेका छन् ।  १० वर्षसम्म बेनीमा रहेको कृषि विकास कार्यालयमा सहयोगी कर्मचारीको रुपमा करारमा काम गरेका पौडेलले स्थापना गरेको बगर कृषि तथा पशु बहुउद्देश्यीय फार्मबाट सफलता हात पारेका हुन् ।  ‘५ वर्षजति खाडी मुलुकमा वैदेशिक रोजगारी गरेर फर्केपछि विसं २०६६ देखि ११ वर्षसम्म बेनीको कृषि विकास कार्यालयमा सहयोगीको रुपमा काम गरेको थिए,’ उनले भने, ‘सङ्घीयता पछि जागिर छाडेर बाख्रा पाल्ने सोच पलायो । ९ वटाबाट सुरु गरेको फार्ममा अहिले ६० भन्दा बढी बाख्रा छन् ।’ वार्षिक ३५ देखि ४० वटासम्म खसी बोका बिक्री गरेर ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने पौडेलले ३ जना छोराछोरीलाई सदरमुकाम बेनीमा राखेर पढाउनुका साथै घरव्यवहार चलाउन सजिलो भएको बताए । खसी बोका बाहेक पाठा पाठी पनि बिक्री हुने गरेको छ । ग्राहकहरू पाठा पाठी र खसी बोका खोज्दै घरमै आउने गरेकाले बजारको समस्या छैन । पौडेलले बाख्रापालनसँगै व्यावसायिक रुपमा सुन्तला र तरकारी खेती पनि गरेका छन् । १ सय बोटमध्ये ४० बोट सुन्तलाले उत्पादन दिन थालेका छन् । थप १ सय सुन्तलाका बिरुवा रोपेर खेती विस्तार गरेका छन् । वैदेशिक रोजगार र करारको जागिरको तुलनामा खेती किसानी र बाख्रापालनबाट सन्तुष्टि मिलेको पौडेलले अनुभव सुनाए । व्यवस्थित किसिमको खोर बनाएर जमुना पारी जातको बाख्रा पाल्नुभएका पौडेलले उन्नत बोयर जातको एक वटा बोका सहयोग पाएका छन् ।  फार्मको पूर्वाधार विस्तारमा पौडेलले सरकारी निकायबाट सहयोगको अपेक्षा गरे । घर वरपरको पाखामा चरनमा आधारित बाख्रापालन गरेका पौडेलले बहु वर्षीय डालेघाँस खेती पनि अपनाएका छन् । बाख्राको सुरक्षाका लागि ठूला जीउडाल भएका एक वटा भोटे जातको सहित दुई वटा कुकुर पालेका छन् । रातको समयमा खोर वरपर रुघेर बस्ने कुकुर जङ्गलमा बाख्रा चराउन लैजाँदा अघिपछि गरेर सुरक्षा दिने गर्छ ।  जङ्गली जनावरको सङ्केत पाएमा भुकेर जानकारी दिने कुकुरले भिडेर बाख्रालाई आक्रमणबाट बचाउन सहयोग गरेको कृषक पौडेलले बताए । भुवानीलाई बाख्रापालनमा श्रीमती भगवतीले पनि सघाएकी छिन् ।