नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका–१ मनेडाँडा जाने सडक वर्षाका कारण हिलाम्मे हुँदा आवतजावतमा समस्या भएको छ । सडक बिग्रिएपछि राहत सामग्री बोकेका सवारीसाधनसमेत बीच बाटोमै रोकिएका छन् ।
हाल मनेडाँडा पुग्ने मुख्य सडक यही भएकाले अन्य वैकल्पिक मार्ग नहुँदा स्थानीय तथा राहत सामग्री ओसारपसार गर्ने सवारीसाधनले थप समस्या भोग्नुपरेको छ ।
कालिकास्थानमा राखिएका होल्डिङ सेन्टरसम्म राहत सामग्री पुर्याउन सडकमार्ग नै प्रमुख माध्यम हो । सडकको अवस्थाले राहत वितरणमा समेत असर परेको राहत वितरण गरेर फर्किएका स्थानीय सुमन तामाङले जानकारी दिए ।
स्थानीयका अनुसार पानी पर्नासाथ सडक थप हिलाम्मे हुने गरेको छ । सडकमा सवारीसाधन फस्दा सम्बन्धित स्थानमा पुर्याउनुपर्ने राहत सामग्रीसमेत बाटोमै रोकिँदै आएको छ ।
चार पाङ्ग्रे सवारीसाधनलाई समेत आवतजावतमा समस्या रहेको सडकमा दुई पाङ्ग्रे सवारीसाधन चलाउन झन् कठिन रहेको स्थानीयको भनाइ छ । गत भदौ १० गते रसुवा क्षेत्रमा अकस्मात् आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लालाई सबैभन्दा धेरै प्रभावित बनाएको छ । उक्त क्षेत्रमा आएको बाढीले १ हजार ३ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ५ हजारभन्दा बढी सम्पर्कविहीन छन् ।
अहिले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रमहरू भइरहेको छ । तर बाटोको अवस्थाको कारण सम्बन्धित ठाउँमा राहत पुग्न कठिनाइ हुँदै आएको छ ।









