राजमार्गका १५ मिटरभित्रका संरचना हटाउन १५ दिनको ताकेता
काठमाडौं । सडक सीमा खाली गर्न निर्देशन दिएको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्ज (बाँके) ले १५ दिनभित्र सडक अतिक्रमण हटाउन अल्टिमेटम दिएको हो । हुलाकी राजमार्ग नेपालगन्ज-गुलरिया सडकखण्डअन्तर्गत धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको क्षेत्रमा सडक सीमा अतिक्रमण हटाउन निर्देशन दिएको हो । कार्यालयका अनुसार सडकको केन्द्र बिन्दुदेखि दायाँ-बायाँ १५/१५ मिटरभित्र विभिन्न व्यक्ति तथा संस्थाले घर, टहरा, पर्खाल, ठेलागाडालगायतका संरचना निर्माण गरी सार्वजनिक सडक ऐन, २०३१ विपरीत अतिक्रमण गरेका छन् । यसले यातायात सञ्चालनमा बाधा पुर्याउनुका साथै सडक सुरक्षामा समेत गम्भीर असर परेको जनाइएको छ । उक्त सडक खण्ड विस्तारका लागि अतिक्रमित संरचना १५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना संरचना आफैँ हटाई सडक सीमा खाली गर्न निर्देशन दिएको हो । तोकिएको समयभित्र अतिक्रमण नहटाएमा कार्यालयले प्रचलित कानूनअनुसार बल प्रयोग गरी संरचना हटाउने र त्यसक्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनीसमेत कार्यालयको छ ।
महासंघको एसोसियटतर्फ १७ सदस्य निर्वाचित, को-को भए विजयी ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनअन्तर्गत एसोसियट सदस्यतर्फ १७ जना उम्मेदवार निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार सर्वाधिक मत प्राप्त गर्ने १७ जना उम्मेदवार विजयी भएका हुन् । निर्वाचनमा सचिन ढकालले सर्वाधिक १३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन् । यसैगरी, हेमन्त गोल्छाले १ हजार २०२ मत, अम्बिकाप्रसाद पौडेलले १ हजार १८३ मत, उज्ज्वल कुमार श्रेष्ठले १ हजार १५६ मत, शक्ति कुमार वेगानीले १ हजार १४२ मत, ऋषि अग्रवालले १ हजार १२२ मत र सुशिल थापाले १ हजार ९४ मत प्राप्त गरी विजयी भएका छन्। त्यस्तै, राजेश कुमार अग्रवालले १ हजार ८२ मत, सुयस प्याकुरेलले १ हजार ६९ मत, रामशरण भण्डारीले १ हजार ४३ मत, बाबु काजी कार्कीले १ हजार ६ मत, दिवश न्यौपानेले ९९१ मत, कृष्णलाल महर्जनले ९७४ मत, प्रियराज रेग्मीले ९५४ मत, इश्वरबहादुर जीसीले ९४९ मत, सुरज उप्रेतीले ९०७ मत र बटु लामिछानेले ८६० मत प्राप्त गर्दै विजयी भएका छन् । एसोसिएटतर्फ प्रबल जंग पाण्डे र ज्योत्सना श्रेष्ठ समूहबीच प्रतिस्पर्धा भएको थियो । जसमा पाण्डे समूहबाट अधिकांश उम्मेदवार विजयी भएका छन् । सचिन ढकाल दुईटै समहूबाट साझा उम्मेदवार थिए । साथै, पाण्डे समूहबाट हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ, शक्ति कुमार वेगानी, ऋषि अग्रवाल, सुशिल थापा, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, इश्वरबहादुर जीसी र सुरज उप्रेती विजयी भएका छन् । त्यस्तै ज्योत्सना श्रेष्ठ समूहबाट बटु लामिछाने मात्र विजयी भएका छन् ।
अवरुद्ध मुख्य राजमार्गमा यातायात सुरु, केही सडक अझै पूर्ण बन्द
काठमाडौं । वर्षासँगै आएको बाढी पहिराेका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार साँझको वर्षासँगै पहिराेका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका-३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका-५ हाङगाङदाङ थुकिम्बा-दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका-८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनले भने, ‘वर्षा सँगैको पहिराेका कारण अवरुद्ध भएका केही राजमार्ग मङ्गलबार साँझदेखि केही पूर्णरुपमा सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भएका छन् ।’ यसैगरी इलामस्थित इलाम रोङ गाउँपालिका-६ सलकपुर डखेप हुँदै झापा जाने भित्रि कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ चौकीडाँडा र रोशी गाउँपालिका-७ घुमाउने ४०० बेँसीस्थित बीपी राजमार्ग सडकखण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोकको खुर्कोट-नेपालथोक-कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रवक्ता काफ्लेले बताए । वर्षान्तको समयमा बाढी पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।