काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार विराटनगर महानगरपालिका–१५ का ५६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर महानगरपालिका–१७ का ३५ वर्षीय सुरज प्रसाद साह पक्राउ परेका हुन् ।
उनीहरूले व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खातामार्फत करिब १ अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० रुपैयाँ ८१ पैसा बराबरको हुण्डी कारोबार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार केही व्यक्तिहरू हुण्डी कारोबारमा संलग्न रहेको सूचना प्राप्त भएपछि शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारको विश्लेषण गरिएको थियो।
अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाताहरू प्रयोग गरी ठूलो रकमको हुण्डी कारोबार गरेको देखिएपछि उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो।
सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गते मोरङको विराटनगरबाट दुई जनालाई पक्राउ गरेको हो।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डी कारोबार गर्न नहुनेसम्बन्धी कसूर, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।