चिनियाँ राष्ट्रपतिको ‘ओरालो लागिरहेको अमेरिका’ बयानमा ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले चीन भ्रमणमा छन् र चीनका राष्ट्रपति सी जिनपिङको एउटा अभिव्यक्तिलाई लिएर उनले सामाजिक सञ्जालमा लामो पोस्ट गरेका छन् । सी जिनपिङले लामो समयदेखि ‘पश्चिमी देशहरू ओरालो लागिरहेका छन्’ भन्ने गर्दै आएका छन्, यद्यपि चिनियाँ सञ्चारमाध्यमहरूले यसलाई प्रायः अमेरिकाको सन्दर्भमा व्याख्या गर्ने गरेका छन् । शुक्रबार ट्रम्पले आफ्नो ट्रुथसोसल खातामा लामो पोस्ट गर्दै लेखेका छन्, ‘जब चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकालाई ‘डिक्लाइनिङ नेशन’ अर्थात् ओरालो लागिरहेको देश भनेका थिए, त्यो अहिलेको प्रशासनलाई होइन, पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकाललाई संकेत गरेर भनिएको थियो ।’ यो पोस्टलाई द ह्वाइट हाउसले पनि पुनः पोस्ट गरेको छ । उक्त लामो पोस्टमा ट्रम्पले पूर्ववर्ती बाइडेन प्रशासनको समयमा अमेरिकाले ठूलो क्षति बेहोरेको दाबी गरेका छन् । उनले खुला सीमा, उच्च कर, अपराध र व्यापार सम्झौताहरूलाई लिएर अघिल्लो सरकारको आलोचना गरेका छन् । ट्रम्पले आफ्नो प्रशासनको ‘१६ महिनामै अमेरिकाले तीव्र आर्थिक तथा सैन्य प्रगति हासिल गरेको दाबी गरेका छन् । उनले सेयर बजारमा रेकर्ड वृद्धि, रोजगारीका तथ्यांक र विदेशी लगानीलाई उदाहरण दिँदै ‘अमेरिका फेरि आर्थिक शक्ति बनेको’ बताएका छन् । उनले विश्वभरबाट १८ ट्रिलियन डलर लगानी अमेरिका भित्रिरहेको र देशको रोजगारी बजार ‘इतिहासकै सबैभन्दा बलियो’ रहेको पनि बताएका छन् । ट्रम्पले आफ्नो पोस्टमा इरान र भेनेजुएलासँग सम्बन्धित अमेरिकी सम्बन्ध तथा सैन्य अभियानको पनि उल्लेख गरेका छन्। ट्रम्पका अनुसार सी जिनपिङले पनि छोटो समयमै उनको सरकारका उपलब्धिको प्रशंसा गरेका छन् । उनले भने, ‘दुई वर्षअघि अमेरिका ओरालो लागिरहेको थियो, यस विषयमा म सी जिनपिङसँग पूर्ण रूपमा सहमत छु । तर अहिले अमेरिका विश्वकै सबैभन्दा चर्चित र शक्तिशाली देश बनेको छ ।’ ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध पहिलेभन्दा अझ बलियो बन्न सक्ने आशा पनि व्यक्त गरेका छन् । यद्यपि ट्रम्पको हालको भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङले वास्तवमै यस्तो टिप्पणी गरेका हुन् वा होइनन् भन्ने स्पष्ट छैन । तर बिहीबार आफ्नो प्रारम्भिक सम्बोधनमा शी जिनपिङले ‘थ्युसिडाइड्स ट्र्याप’ भन्ने उखानको उल्लेख गरेका थिए । उनले भनेका थिए, ‘विश्व नयाँ मोडमा पुगेको छ । के चीन र अमेरिका थ्युसिडाइड्स ट्र्याप’ बाट बाहिर निस्केर सम्बन्धको नयाँ मोडेल बनाउन सक्छन् ?’ यो उखान एउटा पुरानो सिद्धान्तमा आधारित छ, जसअनुसार जब कुनै उदाउँदो शक्तिले स्थापित शक्तिलाई चुनौती दिन्छ, तब युद्धको सम्भावना अत्यधिक बढ्छ ।

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ । उक्त कार्यालयका अनुसार चालु आवका लागि चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा ६८ दशमलव ९८ प्रतिशतअर्थात् आठ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा २७ दशमलव ९१ प्रतिशतअर्थात् एक खर्ब १३ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ बराबर खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ हालसम्म बजेट खर्च ६५ दशमलव ३० प्रतिशत छ । यो शीर्षकमा चालु आवका लागि सरकारले तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन गरेकामा हालसम्म दुई खर्ब ४५ अर्ब एक करोड ५४ लाख रुपैयाँ बराबर खर्च भएको छ । वैशाख मसान्तसम्ममा सरकारको आम्दानी वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चिएको छ । चालु आवका लागि कूल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ बराबर आम्दानी गर्ने लक्ष्य रहेकामा सरकारले हालसम्म १० खर्ब १२ अर्ब पाँच करोड २४ लाख रुपैयाँ बराबर आम्दानी गरेको हो । यस आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको सरकारले पछिल्ला १० महिनामा वार्षिक लक्ष्यको ६६ दशमलव ६९ प्रतिशतअर्थात् नौ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख रुपैयाँ बराबर मात्रै असुली गरेको छ ।  चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म सो लक्ष्यको ३३ दशमलव २८ प्रतिशतअर्थात् १७ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ बराबर अनुदान लिएको पाइएको छ ।    

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस भएको छ ।  राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेस गरेका हुन् । त्यसअवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । 'बेरुजु फछ्र्योट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्छ', उनले भने ।  राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो, शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गरे । प्रतिवेदनदले औँल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरोकार भएकाहरुलाई जवाफदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरे ।  बेरूजु कम गर्दै आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता, पेसागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।