काठमाडौं । नेपाल-चीन उत्तरी सीमा नाका कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी-केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चीनबाट हुने मालवस्तुको पैठारी ह्वात्तै बढेको हो ।
मुस्ताङ भन्सार कार्यालयकाका अनुसार रसुवागढी-केरुङ र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तुको पैठारी बढ्दो क्रममा रहेको छ । शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
भदौ २२ गतेपछि कोरलानाकाबाट दैनिक औसतमा ३० करोड रुपैयाँ हाराहारी राजस्व सङ्कलन हुँदै आएको भन्सार कार्यालयले जनाएकाे छ । भन्सार कार्यालयका अनुसार शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास गरी गन्तव्यतर्फ पठाइएको छ । रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको हाे ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट दुई अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख चुडालले बताए। भदौ ९ गतेसम्म भने १३३ कन्टेनर र १६३ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए ।
यसअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै बाह्रै महिना खुला गरिएको कोरलानाका गत वर्ष तातोपानी र रसुवागढी नाकामा आएको बाढीपहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्ष भदौ ३१ गतेदेखि वैकल्पिक निकासी-पैठारी नाकाका रूपमा खुला गरेको थियो ।
गत आर्थिक वर्ष २०८२/८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारी कारोबारबाट मुस्ताङ भन्सार कार्यालयले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा पैठारीतर्फ १४ अर्ब ४१ करोड रुपैयाँ र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँ बराबरका मालवस्तुको कारोबार भएको थियो । गत वर्ष कोरलानाका हुँदै तीन हजार २२३ विद्युतीय सवारीसाधन र एक हजार ८७३ कन्टेनरको भन्सार जाँचपास गरिएको थियो ।