काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा जेहेनदार विद्यार्थीलाई लक्षित गर्दै संस्थागत (निजी) विद्यालयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिने जनाएको हो ।
महानगरको यो कार्यक्रमले निजी विद्यालयमा अध्ययन गर्न चाहने तर आर्थिक अभावका कारण अवसरबाट वञ्चित हुने विद्यार्थीलाई राहत पुग्ने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा महानगरले छात्रवृत्ति वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन परीक्षा प्रणालीलाई प्राथमिकता दिँदै आएको छ ।
शिक्षा विभागका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत भर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीले आवेदन फाराम भर्दा आवश्यक शैक्षिक विवरण तथा व्यक्तिगत जानकारी सही रूपमा उल्लेख गर्नुपर्ने महानगरले जनाएको छ ।
महानगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार छात्रवृत्तिसम्बन्धी विस्तृत विवरण वेबसाइटमा राखिएको छ । त्यहाँ विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा, परीक्षा केन्द्र तथा आवेदन प्रक्रियासम्बन्धी जानकारी उपलब्ध गराइएको छ । शिक्षा विभागले आवेदन दिनुअघि सम्बन्धित विवरण राम्रोसँग अध्ययन गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ ।
छात्रवृत्ति छनोटका लागि हुने परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिनेछ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ । परीक्षामा १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिनेछन् । महानगरका अनुसार परीक्षा निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक ढङ्गले सञ्चालन गरिनेछ ।
महानगरपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले निजी विद्यालयहरूलाई कानुनी रूपमा तोकिएको छात्रवृत्ति कोटा अनिवार्य कार्यान्वयन गराउँदै आएको छ । यसले गर्दा विगत केही वर्षयता छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको महानगरको दाबी छ ।
महानगरका अनुसार गत शैक्षिक सत्र २०८० मा मात्रै संस्थागत विद्यालयका २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति सुविधा प्राप्त गरेका थिए । कानुन कार्यान्वयन सुरु भएको पहिलो वर्ष १३ हजार विद्यार्थीले छात्रवृत्ति पाएका थिए भने दोस्रो वर्ष यो संख्या बढेर १९ हजार पुगेको थियो । पछिल्लो विवरणअनुसार कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ विद्यार्थी गरी कुल २० हजार २८२ जनाले छात्रवृत्ति सुविधा पाएका थिए ।
महानगरपालिकाले शिक्षा पहुँच विस्तारसँगै गुणस्तरीय शिक्षामा समान अवसर सुनिश्चित गर्ने लक्ष्य राखेको जनाएको छ । आर्थिक रूपमा विपन्न, श्रमिक, दलित, जनजाति तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर छात्रवृत्ति वितरण गरिँदै आएको महानगरको भनाइ छ ।
शिक्षाविद्हरूले पनि महानगरको यस्तो पहलले निजी विद्यालयमा अध्ययन गर्ने अवसर सबै वर्गका विद्यार्थीमा विस्तार हुने बताएका छन् । उनीहरूका अनुसार पारदर्शी परीक्षा प्रणालीमार्फत छात्रवृत्ति वितरण हुँदा वास्तविक आवश्यकतामा रहेका विद्यार्थी लाभान्वित हुने सम्भावना बढ्छ ।
काठमाडौँ महानगरपालिकाले आगामी वर्षहरूमा छात्रवृत्ति कार्यक्रमलाई अझ प्रभावकारी र पहुँचमुखी बनाउने योजना रहेको जनाएको छ । महानगरले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र निगरानीका कारण निजी विद्यालयहरूमा कानुनी दायित्व कार्यान्वयनमा समेत सुधार आएको दाबी गरिएको छ ।