कारागारबाट भागेकी सपना प्रेमीसहित पक्राउ
काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट फरार भएकी सपना तामाङ पक्राउ परेकी छन् । उनलाई काठमाडौं इन्द्रचोकको भेडासिंहबाट आइतबार राति १ बजे पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले विकासन्युजलाई जानकारी दिए । उनी शुक्रवार कारागारबाट राति फरार भएकी थिइन् । प्रहरीले उनको प्रेमीलाई पनि नियन्त्रणमा लिएको एसएसपी खड्काले बताए । तामाङ कारागारको वाल नाघेर फरार भएकी थिइन् । तामाङ नुवाकोटको विदुर नगरपालिकाकी हुन् । उनी चोरी र कर्तव्य ज्यानको कसुरमा जन्म कैदको फैसला सुनाएर कैद भुक्तान गर्दै आएकी थिइन् । यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।
‘कान्स फिल्म फेस्टिभल’ का लागि डंगोल फ्रान्स जाँदै, श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको ४९ औं कार्यपालिका बैठक विभिन्न १९ वटा प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ । महानगरपालिकाको सभा कक्षमा आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले शिक्षा, जनशक्ति व्यवस्थापन, पुनर्निर्माण र खेलकुद लगायतका ७ वटा क्षेत्रका विविधसहित १९ वटा प्रस्तावहरू पारित गरेको हो । बैठकले विशेष गरी कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्तिसम्बन्धी व्यवस्था गरिएको कार्यविधिलाई संशोधनसहित पारित गरेको छ । उक्त प्रस्ताव शिक्षा स्वास्थ्य समितिका तर्फबाट सदस्य सचिव एवं शिक्षा अधिकारी नमराज ढकालले पेश गरेका थिए । कार्यविधिमा समेटिएका व्यवस्थाहरूका बारेमा कार्यपालिका सदस्यहरू दलबहादुर कार्की, विमलकुमार होडा, रामकुमार केसी र आशामान संगतले आफ्ना धारणा राखेका थिए भने रोजिना श्रेष्ठले आइतबार विद्यालय खोल्ने विषयमा एकरूपता ल्याउनुपर्ने सुझाव दिएकी थिइन् । बैठकले कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा आयोजना हुने ुकान्स फिल्म फेस्टिभलु मा सहभागी हुन जाने प्रस्ताव समेत पारित गरेको छ । आज बेलुका उनी कार्यक्रमका लागि प्रस्थान गर्ने भएपछि नफर्किउन्जेलसम्मका लागि ज्येष्ठताका आधारमा वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी तोकिएको छ । महानगरको बैठकले सहरी योजना आयोगको उपाध्यक्षमा डा. सुमननरसिंह राजभण्डारी नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी, नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि गरेको छ । वडा नं. १७ मा रहेको कन्या माध्यमिक विद्यालयमा छात्राहरूका लागि छात्रावास निर्माण गरिने, ‘काठमाडौं महानगरपालिका प्रथम उपप्रमुख कप खोखो प्रतियोगिता’ सञ्चालन गर्ने, जेनजी आन्दोलनका क्रममा क्षति भएका जन सेवा प्रहरी, महानगर प्रहरी वृत्त गौशाला र कालीमाटी पुनर्निर्माणका लागि ज्याला पारिश्रमिक उपलब्ध गराउन वडा नं. ७, ८, ९, ११, १२ र १४ वडा समितिको प्रस्ताव अनुमोदन, पदपूर्ति समिति गठन: महानगर प्रहरी बलको कर्मचारी व्यवस्थापनका लागि पदपूर्ति समिति गठन गर्ने निर्णय पनि भएको छ । बैठकमा प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, र सामाजिक समितिका संयोजक रामकुमार केसीले आ-आफ्नो समितिका प्रस्तावहरू पेश गरेका थिए । समितिका तर्फबाट सदस्य सचिव तथा विभागीय प्रमुखहरू नमराज ढकाल, दिपक अधिकारी र जगदीश अर्यालका साथै वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी विषयमा वातावरण व्यवस्थापन विभागका वरिष्ठ इन्जिनियर रामप्रसाद नेपालले प्रस्ताव पेश गरेका थिए । बैठकको विविध विधा अन्तर्गत कार्यपालिका सदस्यहरू ईश्वरमान डंगोल, बालकृष्ण महर्जन, सरोज ढकाल, विमलकुमार होडा, मचाराजा महर्जन, भुवन लामा र रोजिना श्रेष्ठले विभिन्न समसामयिक विषयमा आफ्ना धारणाहरू राखेका थिए ।
सशस्त्र प्रहरीका दुई महिला कर्मचारी पहिलो पटक सगरमाथाको शिखरमा
काठमाडौ । सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले आज बिहान सशस्त्र प्रहरी सङ्गठनका तर्फबाट सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सहायक हवल्दार कार्कीले आज बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राखेका हुन् । सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी हुन् । सङ्गठनका महिला कर्मचारीका तर्फबाट भने यो पहिलो सफल आरोहण भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । इलामको सन्दकपुर गाउँपालिका माबु निवासी शेर्पा र राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछापको गोकुलगङ्गा गाउँपालिका(१, चुचुरे निवासी कार्कीले पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका थिए । उनीहरूले यसअघि मनाङस्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालकोसमेत सफल आरोहण गरिसकेका छन्। यस ऐतिहासिक सफलताले सङ्गठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।